काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजमले पहिलो चरणको आइपीओ आज साउन ६ गतेदेखि बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आइपीओ निष्कासन गर्न लागेको हो।
नेपाल धितोपत्र बोर्डले बन्दीपुर केबलकारलाई ५८ करोड ६० लाख रुपैयाँ अर्थात १०० रुपैयाँ अंकित दरका कुल ५८ लाख ६० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति दिएको छ। कुल कित्तामध्ये कम्पनीले जारी पुँजीको २ प्रतिशतले हुन आउने ५ लाख ६६ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्र (तनहुँको बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा न. १ तथा गोरखाको पालुङटार नगरपालिका वडा न. ७) का स्थानीयका लागि जारी गर्नेछ। स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

















