IME Life New

लचिलो नीतिपछि बैंकहरू घर कर्जा विस्तारमा केन्द्रित, कति छ घरकर्जाको ब्याजदर ? 

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्र बैंकको लचिलो नीतिपछि आवासीय कर्जा विस्तार तीव्र गतिमा अघि बढिरहेको छ । चालु आर्थिक वर्षको सुरुवातमा ‘लोन टू भ्यालु रेसियो’ र कर्जाको सीमा बढाइएपछि बैंक तथा वित्तीय संस्थाहरूले घर कर्जामा लगानी बढाएका छन्।

साउन महिनामात्रै करिब ६ अर्ब ३१ करोड रुपैयाँ घर कर्जा प्रवाह भएको छ । जुन गत आवको सोही अवधिको भन्दा ९ गुणाभन्दा बढी हो। समग्र कर्जा प्रवाह खुम्चिए पनि घर कर्जा उल्टै बढेको तथ्याङ्कले यस क्षेत्रमा फेरि लयमा फर्कन लागेको देखाएको छ।

Crest

ब्याजदर सहज हुँदा र अन्य नीतिहरू पनि सहज हुँदा आवासीय कर्जा प्रवाह बढ्न थालेको हो । अहिले घरकर्जाको ब्याजदर एकल अंकमा झरेको छ ।  साथै लगानीयोग्य रकम पर्याप्त रहेकोले आवासीय कर्जामा माग बढेको बैंकरहरू बताउँछन् । अहिले वाणिज्य बैंकहरूले औसतमा ६-७ प्रतिशत ब्याजदरमा घर कर्जा दिइरहेका छन्। कतिपयले स्थिर ब्याजदर योजनासमेत ल्याएका छन्।

विश्लेषकहरूको भनाइमा, यसरी आवासीय कर्जा बढ्दा सुस्त रहेको रियल स्टेट कारोबारमा केही चहलपहल ल्याउने देखिएको छ । लामो समयदेखि मध्यम वर्ग घर खरिद वा निर्माणका लागि ऋण नपाएर रोकिएका थिए । जसलाई राष्ट्र बैंकले सीमा बढाएर सहज बनाएको छ । यसले निर्माण क्षेत्र, सिमेन्ट, स्टिल, ढुंगागिटीजस्ता उद्योगमा पनि प्रभाव पार्ने जानकारहरू बताउँछन् । बैंकहरूले निजी क्षेत्रमा प्रवाह गरेको कर्जामध्ये निर्माण क्षेत्रमा कर्जा बढीरहेको छ । आवास निर्माणले पनि यसलाई सहज बनाएको उनीहरू बताउँछन् ।

रेमिट्यान्सको उच्च दरमा भित्रँदा पनि व्यक्तिगत आवास निर्माणले प्रश्रय पाएको जानकारहरूको भनाइ छ । सुस्त रहेको रियल स्टेट पुनः लयमा आएको र आवासीय परियोजनाहरू तीव्र गतिमा विस्तार हुँदै गएकाले पनि यस्तो कर्जा लिने आकर्षण बढाएको जानकारहरू बताउँछन् ।

राष्ट्र बैंकको नीति अनुसार, ३ करोडसम्मको घरजग्गा ऋण लिएर किन्न सकिन्छ। यसअघि २ करोडको सीमा थियो। साथै, पहिलो पटक ३ करोडसम्मको घर खरिद वा निर्माण गर्ने प्रयोजनको कर्जामा लोन टू भ्यालु रेसियो ८० प्रतिशत पुगेको छ। यसअघि यस्तो रेसियो ७० प्रतिशत थियो। आवासीय घरजग्गा कर्जामा जोखिम कम भएकाले बैंकलाई लगानी गर्न पनि सजिलो हुन्छ। तर, अहिले पनि घरजग्गाको खरिदबिक्री अझै सुस्त छ । यसकारण आवासीय कर्जा जति बढ्नुपर्ने हो त्यति नबढेको बैंकरहरू बताउँछन् । यदि माग अचानक बढ्यो भने घरजग्गाको मूल्य फेरि कृत्रिम रूपमा चुलिन सक्ने जोखिम पनि रहने विज्ञहरू औंल्याउँछन् ।

अर्थशास्त्रीहरूका अनुसार, आवासीय कर्जा विस्तार सधैं सकारात्मक मात्र हुँदैन । यदि उत्पादनमुखी क्षेत्रमा लगानी घट्दै गयो भने दीर्घकालीन रूपमा अर्थतन्त्रमा असन्तुलन आउन सक्छ। तर छोटो अवधिमा भने यसले निर्माण क्षेत्रमा रोजगारी सिर्जना, बैंकहरूको व्यवसाय विस्तार र आवास क्षेत्रमा सहजता ल्याउने निश्चित देखिन्छ।

राष्ट्र बैंकले पनि अझ लचिलो नीति ल्याउने संकेत दिँदै घरजग्गा र निर्माण कर्जालाई प्राथमिकतामा राखेको छ। यसले मध्यम वर्गीय उपभोक्तालाई घर खरिदमा मद्दत गर्नेछ भने बैंकहरूको कर्जा पोर्टफोलियो पनि स्थिर हुने अपेक्षा गरिएको छ।

कस्तो छ घरजग्गा कारोबारको अवस्था ?

गत आर्थिक वर्षको साउन र भदौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा घरजग्गाको कारोबारबाट राजस्व संकलनमा कमी आएको छ । गत आवको पहिलो दुई महिनाको तुलनामा चालु आवमा जग्गा कारोबार ७.२२ प्रतिशत कम अर्थात् ५० करोड रुपैयाँले घटेको हो । गत आवको साउन र भदौमा ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन हुँदा चालु आवमा घटेर ६ अर्ब ४२ करोड रुपैयाँ मात्र संकलन भएको छ ।अधिकांश पालिकाले जग्गा वर्गीकरणको काम नसकेका कारण चालु आर्थिक वर्षको सुरुको दुई महिनामा कारोबार समान भए पनि राजस्व संकलनमा कमी आएको छ ।

सरकारले अघिल्लो साउनबाट जग्गाको कित्ताकाट खुला गरेको भए पनि जग्गा कारोबारबाट आउने राजस्वमा कमी आएको हो । घर जग्गामा निजी क्षेत्रको ठूलो लगानी रहेका कारण यसको कारोबारबाट हुने राजस्वले सरकारको आयसमेत बढ्ने क्रम देखिएको छ ।

कति छ घर कर्जाका लागि ब्याजदर ?

अहिले वाणिज्य बैंकहरुले घरजग्गा कर्जा ६ प्रतिशत हाराहारी ब्याजदरमा दिइरहेका छन्। वाणिज्य बैंकहरुको कर्जाको ‌औसत ब्याजदर अहिले ७.७६ प्रतिशत छ। कतिपय बैंकहरुले घर र गाडी कर्जा ६ प्रतिशतसम्म दिइरहेका छन्। राष्ट्रिय वाणिज्य बैंकले ६.३० प्रतिशत ब्याजदरमा घर कर्जा दिइरहेको छ।

एभरेष्ट बैंकले ७.४९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा दिइरहेको छ। नबिल र ग्लोबल आइएमई बैंकबाट घर कर्जा लिन चाहनेले ८.९९ प्रतिशत स्थिर ब्याजदर तिर्नुपर्छ। घरकर्जाका लागि बैंकहरूको अधिकतम ब्याजदर ११.५० प्रतिशत छ । जुन ब्याजदरमा माछापुच्छ्रे बैंकले घरकर्जा दिइरहेको छ । यस्तै सबैभन्दा कम ब्याजदरमा घरकर्जा ५ प्रतिशत हाराहारीमा छ । राष्ट्रिय वाणिज्य बैंकले भूकम्प प्रभावितका लागि ४.९७ प्रतिशत ब्याजदरमा घर कर्जा दिँदा नेपाली सेनाका लागि ५.०४ प्रतिशतमा दिइरहेको छ ।

यता कृषि विकास बैंकले ५.५५ प्रतिशतदेखि बढीमा ८.५५ प्रतिशतसम्म ब्याजदरमा घरकर्जा दिइरहेको छ ।  यस बैंकले १५ वर्षसम्मको घरकर्जामा अधिकतम ८.५५ प्रतिशत र १० वर्षसम्मकोमा अधिकतम ७.५५ प्रतिशत व्याजदर तोकेको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ करोड रुपैयाँसम्मक घर कर्जाको ब्याजदर ५.७८देखि ७.७८ प्रतिशतसम्म तोकेको छ ।

नेपाल बैंकले ५.८९ देखि ७.३९ प्रतिशतसम्म सर्वसुलभ आवास कर्जा २५ वर्ष अवधिका लागि उपलब्ध गराइरहँदा एनएमबी बैंकले सुलभ घर कर्जा १० वर्ष अवधिका लागि ९.९९ प्रतिशत ब्याजदरमा दिइरहेको छ । एभरेष्ट बैंकले भने ६.०५ देखि ८.०५ प्रतिशत ब्याजदरमा घरकर्जा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

91%

खुसी

0%

दु :खी

0%

अचम्मित

9%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS