काठमाडौं । जीवन बीमा कम्पनीले जारी गरेका बीमालेखमध्ये झन्डै २८ प्रतिशत बीमालेख व्यतित अवस्थामा रहेका छन्। जीवन बीमालेखको कुल संख्याका आधारमा तुलना गर्दा व्यतित बीमालेखको अनुपात २७.६८ प्रतिशत रहेको छ।
नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१।८२ को चैत्र मसान्तसम्म १२ लाख ४६ हजार ३०१ बीमालेख व्यतित अवस्थामा छन्। बीमालेख व्यतित हुँदा बीमितबाट प्राप्त गर्नुपर्नेमध्ये ३६ अर्ब ८७ करोड रुपैयाँ जीवन बीमकको खातामा संकलन हुन सकेको छैन।
प्राधिकरणका अनुसार १४ ठूला जीवन बीमकले जारी गरेकामध्ये सक्रिय बीमालेखको संख्या गत चैत मसान्तसम्ममा जम्मा ३२ लाख ५५ हजार रहेको छ। व्यतित बीमालेख पुनर्जागरण हुन सकेको अवस्थामा सक्रिय बीमालेखको संख्या ४५ लाख नाघ्ने थियो।
बीमालेख व्यतित हुँदा बीमालेखबाट प्राप्त हुनुपर्ने लाभबाट समेत बीमित वा तिनको हकवाला वञ्चित छन्।
नवीकरण शुल्क भुक्तानी गर्नुपर्ने मितिबाट ६ महिना (१८० दिन) नाघे पनि बीमितले भुक्तानी नगरेपछि त्यस्तो बीमालेख व्यतित हुन जान्छ। व्यतित भएको अवस्थामा बीमित वा हकवालाले बीमालेखको समर्पण मूल्यबाहेक अन्य कुनै पनि लाभ प्राप्त गर्दैनन्। त्यसैले बीमालेखको सबै लाभलाई सकृय राख्न बीमितले नियमित रुपमा नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्छ।
बीमालेख पुनर्जागरण अभियान
बीमालेख पुनर्जागरणका लागि प्रेरित गर्न जीवन बीमकले बीमितलाई प्रेरित गर्ने उद्देश्यले सतप्रतिशतसम्म विलम्ब शुल्क छुटको सुविधा ल्याएका छन्। २०७४ सालदेखि जीवन बीमा व्यवसाय सुरु गरेका बीमकले ५० देखि सतप्रतिशत विलम्ब शुल्क घोषणा गरेका छन्। । २०६४ र त्यसभन्दा अघि स्थापित बीमकले पनि २० देखि १०० प्रतिशतसम्म विलम्ब शुल्क छुटको योजना ल्याएका छन्।
ठूलो संख्यामा व्यतित बीमालेख रहेको नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको पुनर्जागरणमा ५० प्रतिशत विलम्ब शुल्क छुटको घोषणा गरेको छ। यसैगरी एसियन लाइफ इन्स्योरेन्सले २५ देखि १०० प्रतिशतसम्म छुटको घोषणा गरेको छ।
जीवन बीमकमध्ये सबैभन्दा थोरै अनुपातमा व्यतित बीमालेख रहेको दाबी गर्दै आएको भारतीय संयुक्त लगानीको जीवन बीमक एलआईसी नेपालले समेत बीमालेख पुनर्जागरणमा २० देखि ३० प्रतिशतसम्म विलम्ब शुल्क छुटको घोषणा गरेको छ। एलआईसी नेपालले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदनमा व्यतित बीमालेखको संख्या जम्मा ३ देखि ४ प्रतिशतको हाराहारीमा रहेको दाबी गरेको छ। जीवन बीमकको औसतमा यो संख्या शंकास्पद देखिन्छ।
व्यतित बीमालेखको गणना कसरी गर्ने भन्नेबारे यकीन मापदण्ड नहुँदा पनि यस्तो तथ्यांकमा गडबडी वा वास्तविक अंक प्रकाशमा नआएको अवस्था छ।
नवीकरण शुल्क भुक्तानीमा क्यासब्याकदेखि बम्पर उपहारसम्म
नवीकरण बीमाशुल्कमार्फत कुल बीमाशुल्क आम्दानी वृद्धिमा योगदान पुग्ने आशामा अधिकांश जीवन बीमकले विलम्ब छुट योजना सार्वजनिक गरेका छन्। यसबाहेक उनीहरुले बीमितलाई समयमै बीमाशुल्क भुक्तानीका लागि प्रेरित गर्न डिजिटल माध्यमबाट भुक्तानीमा नगद छुट र आकर्षक उपहार योजना पनि सार्वजनिक गरेका छन्।
कनेक्ट आईपीएस, ई–सेवा र खल्ती डिजिटल वालेटले जीवन बीमा कम्पनीलाई लक्षित गरेर क्यास ब्याक (नगद फिर्ता) र उपहार योजनासहितको प्रवर्द्धनात्मक अभियान घोषणा गरेका छन्।
जीवन बीमकको भूमिका
जीवन बीमकले नयाँ बीमालेखको संख्या बढाउँदै लैजाने र नयाँ बीमालेख व्यतित नै हुन नदिने सुनिश्चित गरेको अवस्थामा मात्र व्यतित बीमालेखको अनुपात घटाउन संभव हुन्छ। यसका लागि बीमितको बचत क्षमता र व्यक्तिगत आवश्यकता सुहाउँदो जीवन बीमालेख बिक्री गर्नुपर्छ।
नवीकरण शुल्क भुक्तानीका लागि पर्याप्त बचत हुन नसकेको अवस्थामा कस्तो कस्तो विकल्पबाट बीमालेखलाई निरन्तरता दिन सकिन्छ ? यो विषयमा पनि बीमितलाई घरदैलोमै वित्तीय परामर्श उपलब्ध गराउनुपर्छ।
व्यतित बीमालेख शुन्यमा झार्न सम्भव हुँदैन। तर, यसलाई नियन्त्रित अवस्थामा भने राख्न सकिन्छ। जीवन बीमकले प्रत्येक अभिकर्ता र कर्मचारीलाई यो विषय गम्भीरतापूर्वक ग्रहण गर्न प्रशिक्षित गर्नुपर्छ। बीमितसँग धोकाधडी वा छलकपट नगरी सुहाउँदा बीमालेख, उपयुक्त बीमांक र बीमाशुल्क हुने गरी बीमालेख बिक्री गर्नुपर्छ भन्ने सिकाउनुपर्छ।
नियामकीय भूमिका
प्राधिकरणले बीमकको बीमांकी मूल्यांकन प्रतिवेदन स्वीकृत गर्दा व्यतित बीमालेखको अनुपात घटाउनुपर्ने सर्त राख्ने गरेको थियो। प्राधिकरणले सर्त राख्दासमेत बीमकको व्यतित बीमालेख अनुपातमा उल्लेख्य सुधार देखिएको छैन। प्राधिकरणले ६ वर्षअघि नै व्यतित बीमालेख अनुपात ५ प्रतिशतमा झार्न निर्देशन दिएको थियो। पुराना जीवन बीमकको व्यतित अनुपात २० प्रतिशतभन्दा अधिक रहेको छ।
पछिल्लो समयमा प्राधिकरणबाट स्वीकृत बीमांकी मूल्यांकनमा व्यतित बीमालेख अनुपात घटाउनुपर्ने शर्तले प्राथमिकता प्राप्त गर्न छोडेको छ। यसको साटो न्यूनतम नियामकीय पुँजी र पर्याप्त जोखिम आधारित पुँजीको व्यवस्था र भावी बोनसको व्यवस्थाका लागि प्राधिकरणले सर्त राखेर बीमांकी मूल्यांकन प्रतिवेदन स्वीकारेको पाइएको छ।

















