काठमाडौं । विकासोन्मुख देशहरूमा रोजगारीको मुख्य आधार मानिने साना तथा मझौला व्यवसायले करिब ४० खर्ब अमेरिकी डलर बराबरको पुँजी अभाव झेलिरहेका छन् । विश्व बैंकको ‘फाइनान्स एन्ड प्रस्परिटी २०२६’ प्रतिवेदनअनुसार कर्जाको सहज पहुँच हुँदा यस्ता व्यवसायमा रोजगारी १२ प्रतिशतले बढ्ने देखिए पनि अधिकांश साना उद्यमीले ऋण पाउनै सकेका छैनन् ।
विकासोन्मुख अर्थतन्त्रमा हरेक चारमध्ये तीन श्रमिक यस्तै साना व्यवसायमा आश्रित छन् । तर, अहिले उनीहरू महँगो ब्याजदर र खुम्चिँदो वैदेशिक सहायताको दोहोरो मारमा छन् । बैंकहरूमा सरकारी ऋणको बोझ थुप्रिनु र कमजोर नियमनका कारण निजी क्षेत्रतर्फ जाने कर्जा साँघुरिएको प्रतिवेदनले औँल्याएको छ ।
पुँजी अभावका बीच पनि सीमित स्रोतको सही परिचालन गरेर केही देशले भने सकारात्मक नतिजा निकालेका छन् । क्यारेबियन मुलुक सेन्ट लुसियाले कानुन नै फेरेर घरजग्गाको सट्टा सवारीसाधन, मेसिनरी उपकरण र पसलको मौज्दात सामान धितो राखेर ऋण लिन सकिने व्यवस्था गरेको छ । यस्तै, विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले डोमिनिकन रिपब्लिकको ब्यान्को बीएचडीलाई ७ करोड ५० लाख डलर ऋण दिएको छ, जसको आधा रकम महिला उद्यमीका लागि छुट्याइएको छ ।
कोसोभोमा भने ऊर्जा बचतबाट जोगिएको पैसाले नै पुराना भवन मर्मत गर्ने कोष बनाइएको छ । विश्व बैंकको प्राविधिक र वित्तीय सहयोगमा सुरु भएको यस कामले त्यहाँ करिब ३०० ऊर्जा लेखापरीक्षक र निर्माण व्यवसायीहरूको नयाँ पेसागत समूह नै तयार पारेको छ । छिमेकी मुलुक सर्बियामा पनि १८ हजारभन्दा बढी घरपरिवारले आफ्नै खर्चमा ऊर्जा किफायती प्रणाली जडान गरेका छन् ।
सन् २०२५ मा धनी राष्ट्रहरूको समूह (ओईसीडी) बाट आउने सहायता वास्तविक मूल्यमा २३ प्रतिशतभन्दा बढीले घटेको सन्दर्भमा सहायता रकमको सही ट्र्याकिङ झन् महत्त्वपूर्ण बनेको प्रतिवेदनको ठहर छ । कृत्रिम बौद्धिकता (एआई) को पछि लाग्नुअघि सरकारहरूले आधारभूत तथ्याङ्क प्रणाली बलियो बनाउनुपर्ने सुझाव दिँदै प्रतिवेदनले बलियो तथ्याङ्क भए मात्र सीमित बजेट लक्षित वर्गसम्म पुग्ने स्पष्ट पारेको छ ।
पूर्वाधारमा हुने सानो लगानीले पनि साना व्यवसायलाई कसरी टेवा पुर्याउँछ भन्ने उदाहरण फिलिपिन्समा देखिएको छ । त्यहाँको अनौपचारिक श्रमशक्तिको ८.३ प्रतिशत हिस्सा ओगट्ने १३ लाख साना किराना पसल (सारी–सारी स्टोर) सञ्चालनका लागि नियमित पानी मुख्य समस्या थियो । आईएफसीको सहयोगमा जारी ‘ब्लु बन्ड’ बाट रिजाल क्षेत्रको खानेपानी आयोजना बनेपछि पानीको आपूर्ति ३० प्रतिशतभन्दा बढीले बढेको छ, जसबाट ३५ लाख मानिस र स्थानीय पसलहरू प्रत्यक्ष लाभान्वित भएका छन् ।
साना उद्यमीलाई जोगाउन र रोजगारी बढाउन परम्परागत बैंकिङ शैली फेर्दै नीतिगत सुधार र नयाँ वित्तीय औजारहरू प्रयोगमा ल्याउनुपर्ने विश्व बैंकको निष्कर्ष छ ।











