काठमाडौं । सरकारले भोलि चैत्र १२ गते बुधबारदेखि बैंक तथा वित्तीय संस्थाहरु सुचारु गर्ने भएको छ । लकडाउनको समयमा बैंकहरु बन्द हुँदा सर्वसाधारणलाई ठूलो अप्ठेरो पर्न सक्ने भएकोले बैंक खोल्न लागिएको हो ।
नेपाल राष्ट्र बैंकका वित्तीय संस्था नियमन विभागका प्रमुख देव कुमार ढकाल तथा नेपाल बैंकर एशोसिएशनका बीच सम्पन्न भर्चुअल छलफलपछि बैंक खोल्ने सहमति भएको हो । बैकर्स संघका अनुसार प्रत्येक स्थानीय तहमा एक वटा शाखा खुल्ला हुनेछन् । मंगलबार उपत्यकामा घोडेजात्राको विदा परेकाले अधिकांश बैंकहरु बन्द रहेपनि भोलिबाट निश्चित समय सीमा तोकेर खुल्ला गरिने छ । बैंकका कर्मचारीहरुलाई घरदेखि बैंकसम्म आउनको लागि जिल्ला प्रशासन कार्यालयमार्फत पास वितरण गरी बैंक खुल्ला गर्न लागिएको हो ।
विश्वभर महामारीको रुपमा फैलिएको कारोनाबाट जनतालाई सुरक्षित राख्न सरकारले आज चैत्र ११ गतेदेखि चैत्र १८ गतेसम्म सात दिने देश लकडाउन घोषणा गरेको छ । लकडाउनको पहिलो दिन नेपाल इन्भेष्टमेन्ट बैंक बाहेकका कुनै बैंकहरु खुलेनन् ।