काठमाडौं । सूचीमा सेवा सिफारिस हुनु र बिरामीले साँच्चै सेवा पाउनु एउटै कुरा होइन। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कार्यान्वयन संक्षेपले नै यो कुरा प्रष्टसँग स्विकारेको छ, परिमार्जित आधारभूत स्वास्थ्य सेवा प्याकेजमा समेटिँदैमा तोकिएको स्वास्थ्य संस्थाबाट तुरुन्तै हरेक सेवा दिन सकिन्छ भन्ने हुँदैन।
समूह १ का १३१ वटा उपचार पद्धतिमध्ये मन्त्रालयले तिनलाई तीन भागमा बाँडेको छ। ११६ वटा सेवा लक्षित दायरामा पुग्दा वार्षिक ३५.६ अर्ब रुपैयाँ लाग्ने , यी सेवा पहिलेदेखि नै चलिरहेका संरचनाबाट दिन सकिने खालका छन्। जस्तै खोप, परिवार नियोजन, आमा तथा नवजात शिशुको हेरचाह, सामान्य संक्रमण र क्षयरोगको उपचार।
८ प्रकारका सेवाका लागि ५.५ अर्ब रुपैयाँ लाग्ने । यी सेवा सञ्चालनमा ल्याउनका लागि पहिले पूर्वतयारीमा लगानी गर्नुपर्छ वा चरणबद्ध रूपमा लागू गर्दै जानुपर्छ। यसमा मधुमेह, मुटु तथा रक्तनली र दमको तहगत उपचार, आधारभूत फिजियोथेरापी, जलन वा पोलेको उपचार, डिमेन्सिया, मानसिक आघात र प्राथमिक प्यालिएटिभ (दीर्घ तथा गम्भीर रोगीको स्याहार) सेवा पर्छन्।
७ प्रकारका सेवा जसमा ३.१ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। यी सेवाहरू रोग पहिचान, बिरामीलाई स्थिर राख्ने र रेफरल प्रणालीमा भर पर्छन्। जसमा ट्रमा केयर (चोटपटकको आकस्मिक उपचार), क्यान्सर स्क्रिनिङ, पक्षघात र हृदयघातको आकस्मिक उपचार, अनि बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सेवा पर्छन्।
मन्त्रालयले के कुरामा जोड दिएको छ भने, यो वर्गीकरण उपचार पद्धतिको आधारमा मात्र गरिएको हो, स्वास्थ्य संस्थाहरू कत्तिको तयार छन् भनेर जाँचेर गरिएको होइन। अब स्वास्थ्य सेवा विभागले प्रादेशिक स्वास्थ्य निर्देशनालयहरूसँग मिलेर स्वास्थ्य संस्थाहरूको अवस्था जाँच्नेछ। यसमा न्यूनतम सेवा मापदण्ड अनुसार जनशक्ति, औषधि, प्रयोगशाला परीक्षण , उपकरण र प्रेषण क्षमता छ कि छैन भनेर हेरिनेछ।
दीर्घ रोग र मानसिक स्वास्थ्यका सेवाहरू गाउँ ठाउँमा पुर्याउन सबैभन्दा कठिन देखिन्छ। मन्त्रालयले दुर्गम र सेवा नपुगेका क्षेत्रहरूमा चरणबद्ध रूपमा सेवा विस्तार गर्दा लामो समयसम्म सेवाबाट वञ्चित नराखिने, बरु सुधारात्मक सहयोग र रेफरलको व्यवस्था मिलाइने वाचा गरेको छ। धेरैजसो आधारभूत स्वास्थ्य संस्थाहरू स्थानीय तहले चलाउने भएकाले यसको मुख्य भार स्थानीय सरकारमाथि नै पर्नेछ।
स्थानीय तहको जिम्मेवारी अनुसार शर्त अनुदान मिलाउन र भौगोलिक विकटताका कारण सेवा पुर्याउँदा लाग्ने फरक-फरक खर्चको जोहो गर्न अर्थ मन्त्रालयसँग मिलेर काम गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।











