काठमाडौं । मुलुकका आर्थिक तथा वित्तीय सूचक सकारात्मक रहे पनि महँगी भने लगातार बढिरहेको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३।८४ प्रथम त्रैमास (साउन–असोज)सम्मको देशको वर्तमान आर्थिक तथा वित्ती स्थिति प्रतिवेदनले यस्तो देखाएको हो। २०८३ असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.४७ प्रतिशत रहेको थियो।
यसैगरी चालु आर्थिक वर्षको तीन महिनामा कुल वस्तु निर्यात ५७.० प्रतिशतले वृद्धि भई रु. १ खर्ब १४ अर्ब २९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८९.६ प्रतिशतले वृद्धि भएको थियो।
चालु आर्थिक वर्षको असोजसम्म कुल वस्तु आयात ३८.२ प्रतिशतले वृद्धि भई रु. ६ खर्ब ४६ अर्ब ७८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.८ प्रतिशतले वृद्धि भएको थियो।
समीक्षा अवधिसम्म कुल वस्तु व्यापार घाटा ३४.७ प्रतिशतले वृद्धि भई रु. ५ खर्ब ३२ अर्ब ४९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.२ प्रतिशतले वृद्धि भएको थियो।
चालु आर्थिक वर्षको तीन महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २७.२ प्रतिशतले वृद्धि भई रु. ७ खर्ब ३ अर्ब ७० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो। २०८३ असोज महिनामा विप्रेषण आप्रवाह रु. २ खर्ब ६७ अर्ब ३४ करोड रहको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. २ खर्ब १ अर्ब २२ करोड रहेको थियो।
समीक्षा अवधिसम्म चालु खाता रु. २ खर्ब ७९ अर्ब ११ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. २ खर्ब ३८ अर्बले बचतमा रहेको थियो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. ३ खर्ब ३ अर्ब ७९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको थियो।
२०८३ असार मसान्तमा रु. ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.८ प्रतिशतले वृद्धि भई २०८३ असोज मसान्तमा रु. ४१ खर्ब ६१ अर्ब १४ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा २०८३ असोज मसान्तमा ८.२ प्रतिशतले वृद्धि भई २७ अर्ब ३९ करोड पुगेको छ।
चालु आर्थिक वर्षको तीन महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
यसैगरी नेपाल सरकारको खर्च रु. ३ खर्ब ९६ अर्ब २७ करोड र राजस्व परिचालन रु. २ खर्ब ९८ अर्ब ६१ करोड रहको छ। विस्तृत मुद्राप्रदाय ४.४ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.८ प्रतिशतले बढेको हो।
समीक्षा अवधिसमम बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २.८ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ।
वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.३ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाहरुबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर १.०१ प्रतिशत रहेको छ।
वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ३.०७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.३१ प्रतिशत रहेको छ।











