काठमाडौं । साइबर तथा डिजिटल वित्तीय ठगीमा परे अब यो नम्बर तत्काल खबर गर्न सकिने भएको छ।
नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी साइबर तथा डिजिटल वित्तीय ठगीसम्बन्धी गुनासा तथा उजुरीको सम्बोधनका लागि प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोमा चौबीसै घन्टा सञ्चालन हुने गरी विभिन्न सरोकारवा निकायहरु सम्मिलित एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको जानकारी गराएको छ। यो केन्द्रको १२४७ हटलाइन नम्बरमा सम्पर्क गरी साइबर स्क्यामसम्बन्धी घटनाहरुको उजुरी गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ।
अनलाइन ठगी, फिसिङ, नक्कली लिंक, अनधिकृत कारोबार वा डिजिटल भुक्तानीसम्बन्धी ठगीमा परेमा तत्काल १२४७ मा सम्पर्क गरी जानकारी तथा उजुरी गर्ने र उक्त नम्बरबाट प्राप्त भएको जानकारीबमोजिम प्रक्रिया अवलम्बन गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ।
यसैगरी ठगी भएको अवस्थामा आफ्नो बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराई खाता तथा डिजिटल वालेट सुरक्षित गर्न आवश्यक पहल गर्न पनि राष्ट्र बैंकले सुझाव दिएको छ।











