काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी पद तथा सुविधा लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत रामबाबू प्रसाद चौधरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै चौधरीविरुद्ध कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरिएको जानकारी दिएको हो।
राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत उच्च पदस्थ कर्मचारीहरूले सेवा प्रवेश तथा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भन्ने उजुरी परेपछि आयोगले यस विषयमा छानबिन शुरू गरेको थियो। अनुसन्धानका क्रममा चौधरीले राष्ट्र सेवक पदमा कार्यरत रहँदा बढुवा तथा पदस्थापन प्रयोजनका लागि भारतको बिहार इन्टरमिडिएट एजुकेशन काउन्सिलबाट जारी भएको देखिने आईए तहका झुट्टा प्रमाणपत्रहरू पेश गरेको पुष्टि भएको आयोगले जनाएको छ। उनले मार्कसिट, प्रोभिजनल सर्टिफिकेट, कलेज लिभिङ सर्टिफिकेट, चारित्रिक प्रमाणपत्र तथा माइग्रेशन सर्टिफिकेट लगायतका नक्कली कागजातहरू पेश गरेका थिए।
नक्कली प्रमाणपत्रकै आधारमा चौधरी विभागको प्रमुख अनुसन्धान अधिकृत (राजपत्राङ्कित द्वितीय श्रेणी) पदसम्म बढुवा र पदस्थापन भई राष्ट्रसेवकको ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको अख्तियारको ठहर छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार चौधरीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कारवाही अगाडि बढाइएको हो। उनीमाथि साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको विज्ञप्तिमा उल्लेख छ।











