काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र जमुना गुरुङ दम्पत्तीको मुख्य लगानीमा ठमेल–लैनचौर केशरमहल क्षेत्रमा निर्माण थालिएको करिब १३ वर्षपछि पाँचतारे लक्जरी होटल सञ्चालनमा आउने भएको छ।
विश्वप्रसिद्ध म्यारियट इन्टरनेसनलको प्रिमियम ब्रान्ड ‘द लक्जरी कलेक्सन’ अन्तर्गत ‘लाजुली, अ लक्जरी कलेक्सन होटल, काठमाडौँ’नामबाट यो होटल सञ्चालनमा आउन लागेको हो। यसअघि सन् २०२६ को अक्टोबरभित्रै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको भए पनि म्यारियट इन्टरनेसनलको आधिकारिक वेबसाइट र भर्ना सूचनाअनुसार होटलको सञ्चालन मिति सन् २०२७ को अन्तिम त्रैमासमा सरेको छ।
म्यारियट इन्टरनेसनलले आफ्नो विश्वव्यापी नयाँ होटल सञ्चालन तालिकामा काठमाडौँको २२५ कोठा क्षमताको यस परियोजनालाई आधिकारिक रूपमा सूचीकृत गरेको छ।
यसका साथै, म्यारियट इन्टरनेसनलले यही नोभेम्बर २०२६ को मध्यतिरदेखि होटल सञ्चालनपूर्वको तयारीस्वरूप उच्च व्यवस्थापकीय पदहरूमा विश्वव्यापी आवेदनसमेत खुलाएको छ।
सन् २०१४ को अक्टोबरमा शिलान्याश भई निर्माण शुरू भएको यो परियोजना १३ वर्षसम्म लम्बिनु र लागत बढेर करिब १५ अर्ब रुपैयाँ पुग्नुमा विभिन्न प्राविधिक, भूकम्प, नाकाबन्दी, कोरोना महामारी, राजनीतिक उथलपुथल, र व्यवसायीक कारणहरू जिम्मेवार रहेको विभिन्न रिपोर्ट र प्रवर्द्धकहरूको भनाइबाट स्पष्ट हुन्छ।
सुरुमा यो होटल ‘सेराटन काठमाडौँ’ ब्रान्डमा सञ्चालन गर्ने गरी निर्माण थालिएको थियो। तर, सन् २०२६ को जुन महिनामा म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटको काठमाडौँ भ्रमणका क्रममा भएको नयाँ सम्झौतासँगै यसलाई म्यारियटको अझ उच्चस्तरीय र विलासी ब्रान्ड ‘द लक्जरी कलेक्सन’ मा स्तरोन्नति गर्ने निर्णय भयो। ब्रान्ड परिवर्तनसँगै म्यारियटको अति विलासी मापदण्ड पूरा गर्न भवनको भित्री संरचना र सुविधाहरूमा व्यापक पुनः डिजाइन गर्नुपर्दा निर्माण अवधि लम्बिनुका साथै कुल लागत बढेर करिब १५ अर्ब रुपैयाँ पुगेको हो।
निर्माण कार्यले गति लिँदै गर्दा विसं २०७२ को विनाशकारी भूकम्प र त्यसपछिको अघोषित नाकाबन्दीका कारण निर्माण सामग्रीको आपूर्ति र कामदारको अभाव भई लामो समय काम ठप्पप्रायः बनेको थियो। त्यसको सात वर्षपछि सन् २०२० र २०२१ मा विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारी र बन्दाबन्दीका कारण विदेशबाट आयात गर्नुपर्ने विशिष्ट निर्माण सामग्री, लिफ्ट तथा फर्निसिङका सामानहरू भित्र्याउन र विदेशी प्राविधिकहरू नेपाल आउन नसक्दा परियोजना झन् पछि धकेलिएको थियो।
१७ तले यस भव्य संरचनामा २२५ वटा अतिथि कक्ष, स्पा, स्विमिङ पुल र अन्तर्राष्ट्रिय स्तरका सभाहलहरू रहनेछन्। नेपालमा ‘द लक्जरी कलेक्सन’ ब्रान्ड भित्रिनुलाई नेपाली पर्यटन र आतिथ्य क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।











