काठमाडौं । नेपाल बीमा प्राधिकरणको निर्देशिकाअनुसार सञ्चालनमा आएका प्रत्येक स्वतन्त्र लघु बीमा कम्पनीले बजारमा प्रवेश गर्न अनिवार्य रुपमा ७५ करोड रुपैयाँ चुक्तापुँजी कायम गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। तर, करिब १ अर्ब रुपैयाँबराबरको पुँजीगत बल र वित्तीय आधार भएका यी कम्पनीहरुको आन्तरिक प्राविधिक जनशक्तिको वास्तविक अवस्था भने अति नै कमजोर पाइएको छ।
बीमा प्राधिकरणले प्रकाशन गरेको ‘डिजिटल ट्रान्सफरमेसन एन्ड इन्स्योरटेक रेडिनेसः अ पाइलट एसेसमेन्ट अफ माइक्रो इन्स्योरेन्स कम्पनिज इन नेपाल’ विषयक अध्यय प्रतिवेदनका अनुसार अधिकांश लघु बीमा कम्पनीले देशभर फैलिएका ३० देखि ४४ वटाभन्दा बढी शाखा कार्यालय र सयौँ कर्मचारीको सञ्जाललाई व्यवस्थित गर्न केवल एक वा दुईजना मात्रै समर्पित सूचना प्रविधि कर्मचारी राखेर काम चलाइरहेका छन्।
विशाल पुँजी र पूर्वाधारको दाबी गरिए पनि संवेदनशील डिजिटल सञ्जाल, साइबर सुरक्षा प्रणाली र क्लाउड आर्टेक्चरजस्ता अति महत्वपूर्ण प्राविधिक पाटोहरु अत्यन्तै न्यून जनशक्तिबाट सञ्चालन हुनुले नियामक मापदण्ड र व्यावहारिक वास्तविकताबीच ठूलो विरोधाभास देखाएको छ।
बलियो पुँजीगत आधार र ठूलो शाखा सञ्जाल हुँदाहुँदै पनि सामान्य प्राविधिक ट्रबलसुटिङदेखि जटिल डिजिटल प्रणालीहरुको व्यवस्थापनसम्मका लागि एक वा दुईजनाको मात्र आईटी डेस्कमा भर पर्नुपर्ने बाध्यताले यी संस्थाको सेवाप्रवाह र प्राविधिक सुरक्षामा गम्भीर संरचनात्मक जोखिम निम्त्याएको प्रतिवेदनले औँल्याएको छ।
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सः यस कम्पनीमा आईटी विभाग अत्यन्तै न्यून जनशक्तिमा आधारित छ। जहाँ केवल एकजना मात्रै समर्पित आईटी कर्मचारी अधिश प्रधान सूचना प्रविधि प्रमुख कार्यरत छन्। उनी एक्ले विभाग हाँकेका छन्।
प्रोटेक्टिभ माइक्रो निर्जीवन लघु बीमाः यस निर्जीवन लघु बीमा कम्पनीमा पनि आईटी विभागमा केवल एकजना मात्रै समर्पित आईटी कर्मचारी अनुज सिंह केसी आईसीटी विभाग कार्यरत छन्। उनकै भरमा ४१ भन्दा बढी शाखा र १०० भन्दा बढी कर्मचारीको प्राविधिक व्यवस्थापन र ट्रबलसुटिङ टिकेको छ।
स्टार माइक्रो इन्स्योरेन्सः यस कम्पनीमा आईटी विभागमा सुमन राईसहित दुईजना कार्यरत छन्। ५० भन्दा बढी शाखा र १०० भन्दा बढी कर्मचारी रहेको यस संस्थामा पनि दुईजनाको मात्र जनसंख्याले सम्पूर्ण डिजिटल प्रणाली र टाढाबाट हुने प्राविधिक सहयोग धान्नुपरेको छ।
ट्रस्ट माइक्रो निर्जीवन बीमाः सरल विष्टले नेतृत्व गरिरहेको यो विभागमा उनलाई मानव संशाधन विभागका प्रमुख सुधिर शर्मालगायतको सहकार्य रहेको छ। तर, प्राविधिक जनशक्तिको आकार अति नै न्यून छ।
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सः यो कम्पनीमा सूचना प्रविधि प्रमुखका रुपमा श्री प्रसंग रेग्मी छन्। यहाँ पनि सीमित प्राविधिक टिमले नै सम्पूर्ण डिजिटल पूर्वाधार र प्रणालीको भार बोक्नुपरेको संकेत प्रतिवेदनमा गरिएको छ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीः नेपाल माइक्रो इन्स्योरेन्स र अन्य केही कम्पनीको सन्दर्भमा परामर्श बैठक हुन नसकेका कारण प्रतिवेदनमा विस्तृत प्राविधिक जनसंख्या खुलाइएको छैन।
प्रतिवेदनले औँल्याएअनुसार सम्पूर्ण लघु बीमा क्षेत्रमा कार्यरत आईटी जनशक्तिको विषयगत विज्ञता र अनुभवका सम्बन्धमा ठूलो खाडल रहेको छ। अधिकांश कम्पनीमा आईटी विभाग एक वा दुईजना व्यक्तिमा सीमित छन्। उनीहरुले नै नेटवर्क व्यवस्थापन, साइबर सुरक्षा, क्लाउड सर्भर निगरानी र दर्जनौँ शाखाको रिमोट ट्रबलसुटिङ एकसाथ धान्नुपर्ने अवस्था छ।
बीमा क्षेत्रका विशेष सफ्टवेयर, डाटा सुरक्षा तथा जटिल प्राविधिक समस्याहरु एक्लै समाधान गर्न उनीहरुलाई चर्को दबाब पर्ने गरेको छ। यसले गर्दा विशेषगरी साइबर सुरक्षा नीति, आपतकालीन डाटा पुनरुत्थान र बलियो प्राविधिक सुशासनको अभाव खट्किएको प्रतिवेदनको निष्कर्ष छ।











