काठमाडौं । पत्रकार र निजामती कर्मचारीको गैरकानूनी धरपकडको समाचारले सञ्चारमाध्यमहरू तातिएका बेला प्रधानमन्त्री बालेन्द्र शाहले लुडो लगायतका अनलाइन खेलको विकास गर्ने कम्पनीको प्रवर्द्धनमा सघाउने आश्वासन सहितको जानकारी व्यक्तिग फेसबुक पेजमार्फत् सार्वजनिक गरेका छन्।
पत्रकार पक्राउको घटनाबारे सञ्चारगृह र सञ्चारकर्मी र अनि निजामती कर्मचारी (इन्जिनियर) पक्राउको कारण मागिरहेका बेला प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यो विषयमा माैनता साधेको छ। यी घटनाक्रमबाट प्रधानमन्त्री कार्यालयलाइ कुनै प्रभाव नपरेको संकेत गर्न वा अनलाइन गेम प्रवर्द्धनको विषय संवैधानिक माैलिक हक, प्रेस स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रताभन्दा अझ महत्वपूर्ण हो भन्ने संदेश दिन खोजेको हुनसक्छ।
पत्रकार घरपकड र संवैधानिक व्यवस्थामाथि प्रहारविरूद्ध पत्रकारहरूले शनिबार बिहान सडकमा विरोध प्रदर्शन गरेका छन् । नेपाल इन्जिनियर्स एशोसिएशनले पनि निजामती कर्मचारीको गैरकानूनी पक्राउको निन्दा गर्दै कानूनको सर्वोच्चता स्वीकार्न सरकारलाइ सचेत गराएको छ।
विश्वव्यापीरूपमा लोकप्रिय भनेको लुडो लगायतका मनोरञ्जनात्मक खेलको गेम सिर्जना गरेका सूचना प्रविधि उद्यमीहरूसँगको भेटपछि प्रधानमन्त्री बालेन्द्रले निजी फेसबुक पेजमा उनले नेपालमै विश्वस्तरीय ‘ग्लोबल युनिकर्न’ कम्पनीहरू स्थापना गर्न सकिने अनुकूल वातावरण निर्माणका लागि विद्यमान नियम, नीति र कर प्रणालीमा व्यापक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले नेपालको आईटी तथा गेमिङ क्षेत्रलाई व्यवस्थित उद्योगका रूपमा विकास गर्न सरकारले ठोस गृहकार्य अगाडि बढाएको जानकारी दिए ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइट तथा सामाजिक सञ्जालमा यो विषयमा कुनै जानकारी सार्वजनिक नभएकाले उनले व्यक्तिगतस्तरबाट गफगाफ गरेका हुन् वा औपचारिक जिम्मेवारी सहित बैठक गरेका हुन् भन्ने अस्पष्ट छ।












