काठमाडौं । नेपाल बीमा प्राधिकरणको मध्यस्थकर्ता शाखाले अभिकर्ता इजाजत पत्र परिक्षामा सहभागी नक्कली वा गैर परिक्षार्थीविरूद्ध कारवाही शुरू गरे यता एक सयभन्दा बढी परिक्षार्थी कारवाहीमा परेका छन् ।
परिक्षाको मर्यादाविपरित गतिविधि गर्ने परिक्षार्थीलाई बीमा मध्यस्थकर्ता (अभिकर्ता) परिक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७९ को दफा (८) को उपदफा (५) बमोजिम प्राधिकरणले तीन महिनाका लागि निलम्बनको कारवाही गर्दै आएको छ।
प्राधिकरणले २०८२ पुस ९ गतेदेखि दूर निगरानी अर्थात् आइआरएमआइएस प्रणालीमार्फत् परिक्षा प्रणालीमा जोडिएका परिक्षार्थीहरूमाथि निगरानी गर्दै आएको छ। निगरानीका क्रममा अधिकांश पटक पाँच पटक नक्कली परिक्षार्थीविरूद्ध निगरानी र कारवाही गरेको छ। प्राधिकरणका अनुसार, स्थलगत र गैरस्थलगत निगरानीका क्रममा १४ वटा जीवन बीमक र २ लघु जीवन बीमक गरी इजाजत प्राप्त सबै जीवन बीमा कम्पनीका परिक्षार्थीहरू कारवाहीमा परिसकेका छन् ।
प्राधिकरणले प्रेस विज्ञप्तीहरूमा परिक्षार्थीविरूद्ध कारवाहीको कारणमा, ‘IRMIS प्रणालीमा प्रविष्ट गरिएको फोटोमा भएको व्यक्ति भन्दा फरक व्यक्ति परीक्षामा सहभागी भई परीक्षा दिदै गरेको अवस्थामा फेला पारेपछि निष्काशन र कारवाही गरिएको उल्लेख गरेको छ।’
१४ जीवन बीमकका परिक्षार्थी कारवाहीमा परिसक्दा भने निजी क्षेत्रबाट सञ्चालित जीवन बीमकहरूमध्ये दुई लघु जीवन बीमकका परिक्षार्थी कारवाहीमा परेका छैनन् । यसबाहेक सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीबाट परिक्षामा सहभागी एकजना पनि प्राधिकरणको अनुशासनात्मक कारवाहीमा परेका छैनन् ।
राष्ट्रिय जीवन बीमा कम्पनीले गैर परिक्षार्थीलाई परिक्षामा पूर्ण निस्तेज गरेको हो वा प्राधिकरणले प्रभावकारीरूपमा निगरानी गर्न नसकेको हो ? कानूनी तथा नियामकीय प्रावधानहरूको अनुपालनाका सम्बन्धमा अति चनाखो रहँदै आएको मानिने मेट लाइफ (अमेरिकन लाइफ इन्स्योरेन्स) बाट सहभागि परिक्षार्थी समेत प्राधिकरणको कारवाहीमा परिसकेका छन् ।
प्राधिकरणको मध्यस्थकर्ता शाखा प्रमुख सबिता थापाका अनुसार, अधिकांशमा गैर परिक्षार्थीको सहभागि नै अनुशासनात्मक कारवाहीको मुख्य कारण हुन् । यसबाहेक परिक्षार्थीलाइ अन्य कुनै व्यक्तिले परिक्षामा सघाउने, छेउछाउमा अन्य व्यक्तिको उपस्थितिसँगै कोलाहलका कारण पनि परिक्षामा अनुशासन उलंघनको घटना दर्ज हुने गरेको छ।
अधिकांश बीमकले परिक्षाका लागि कार्यालयमा पर्याप्त पूर्वाधारको समेत व्यवस्था गरेका छैनन् । परिक्षाका लागि बेग्ले कोठा तथा उपकरण उपलब्ध नहुने समस्या छ। बीमा अभिकर्ताको परिक्षा सम्बन्धी निर्देशिकामा परिक्षाका लागि आवश्यक उपकरण र भरपर्दो इन्टरनेटको सुविधा परिक्षार्थी स्वयमले नै व्यवस्था गर्नुपर्ने प्रावधान छ। तर, अधिकांश परिक्षार्थीले व्यक्तिगतरूपमा ल्यापटप वा डेस्कटप कम्प्युटर र भरपर्दो इन्टरनेटको व्यवस्थापन व्यक्तिगतरूपमा गर्न सक्दैनन् । त्यसैले बीमकले आफ्नै कार्यालयमा डाँकेर उनीहरूलाई परिक्षामा सहभागी गराउँदै आएका छन् ।












