काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष राजन विक्रम थापाले लामो समयदेखि थाती रहेका विषयवस्तु तथा अजेन्डाहरु तत्काल आफूसमक्ष पेस गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
कार्यभार सम्हालेसँगै कामको गति बढाउन सक्रिय देखिएका अध्यक्ष थापाले छठ पर्वको सार्वजनिक बिदाको दिनसमेत कार्यालयमा उच्च तहका कर्मचारीहरुको बैठक डाकेर यस्तो निर्देशन दिएका हुन्। आइतबार छठ पर्वको राष्ट्रिय बिदाको समय सदुपयोग गर्दै अध्यक्ष थापाले काठमाडौंमा उपलब्ध प्राधिकरणका उच्च तहका निर्देशकहरुलाई कार्यालयमा बोलाएका थिए। बैठकमा विशेषगरी सञ्चालक समिति वा अध्यक्षको तहबाट निर्णय हुन नसक्दा अड्किएर बसेका विषयवस्तु र ‘पेन्डिङ’ निर्णयहरुको विस्तृत विवरण पेस गर्न तथा त्यसबारे ब्रिफिङ गर्न उनले निर्देशकहरुलाई निर्देशन दिएका थिए।
प्राधिकरणभित्र सुशासन कायम गर्ने र समग्र बीमा क्षेत्रको प्रवर्द्धन गर्ने आफ्नो मुख्य प्राथमिकता रहेको उनको भनाइ छ। साथै, सर्वसाधारण तथा बीमा क्षेत्रसँग सरोकार राख्ने जोकोहीलाई पनि कुनै समस्या वा गुनासो भए सिधै आफू समक्ष उजुरी तथा गुनासो राख्न उनले आग्रहसमेत गरे।
यद्यपि, कार्यसम्पादनमा तीव्रता र सुशासनको प्रतिबद्धता जनाउँदै आउनुभएका थापाको आफ्नै नियुक्ति प्रक्रिया भने विवादरहित बन्न सकेको छैन।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा नै नदिई प्रतिस्पर्धामा उत्रिएर बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थापाको नियुक्ति प्रक्रियाको पारदर्शितालाई लिएर प्रश्न उठिरहेको छ।











