काठमाडौं । तपाईले एकजनाको नाममा भएको बैंक खाता अर्को कुनै व्यक्तिले आपराधिक कारोबारका लागि प्रयोग गरेको बारेमा समय समयमा आम सञ्चारमाध्यममा समाचार पढ्नु, हेर्नु भएको होला । यसरी कुनै एउटा व्यक्तिको नाममा रहेको बैंक खातालाई अर्कै कुनै असम्बन्धित व्यक्तिले आपराधिक आर्जनको उद्देश्यले प्रयोग गर्न उपलब्ध गराउने मानिसलाई अँग्रेजीमा ‘मनी म्युल’ भनेर सम्बोधन गरिन्छ।
नेपालीमा यसको ठ्याक्कै अर्थ दिने शब्द छैन, तर यसलाई उल्था गर्दा यसले ‘पैसा बोक्ने खच्चर’ भनेर अर्थ लाग्छ। जसले अरू कुनै व्यक्तिले गैरकानूनीरूपमा आर्जन गरेको रकम आफ्नो बैंक खातामा जम्मा गर्न, झिक्न, कुनै तेश्रो पक्षलाई भुक्तानी गर्न वा खर्च गर्नका लागि निर्वाधरूपमा दिइरहेको हुन्छ। यसरी खाता प्रयोग गर्न दिने व्यक्तिले पैसाको लोभमा वा अनजानमै कुनै आपराधिक व्यक्ति वा संगठनको नियन्त्रणमा आफ्नो बैंक खातामा पहुँच दिएको हुन्छ ।
यसरी मनि म्युल भन्नाले त्यस्तो व्यक्ति वा संस्था बुझिन्छ जसले आफ्नो बैंक खाता, वालेट, वा अन्य वित्तीय माध्यम प्रयोग गर्न दिएर अर्को व्यक्ति वा संस्थाका लागि रकम प्राप्त गर्ने, स्थानान्तरण गर्ने, निकाल्ने वा सार्ने कार्य गर्छ, चाहे उसलाई त्यसको वास्तविक उद्देश्य थाहा होस वा नहोस्। यस्ता रकमहरू प्रायः ठगी, साइबर अपराध, सम्पत्ति शुद्धीकरण वा अन्य आपराधिक गतिविधिसँग सम्बन्धित हुन्छन् ।
अपराधीहरूले सामाजिक सज्जाल, म्यासेजिङ एप, अनलाइन विज्ञापन, टेलिफोन कल वा व्यक्तिगत सम्पर्कमार्फत सजिलो आम्दानी, कमिशन, आंशिक रोजगारी वा लगानीको अवसर देखाई ‘मनी म्युल’ का रूपमा प्रयोग हुन प्रलोभन देखाउँछन् ।
कसरी सञ्चालन हुन्छ मनी म्युलको धन्दाः
यसका लागि सबैभन्दा पहिले आपराधिक गतिविधिमा संलग्न व्यक्ति गिरोह वा संगठनले बैंक खाता प्रयोगकर्ता वा डिजिटल वालेट प्रयोगकर्तालाई विभिन्न माध्यमबाट सम्पर्क गरेर प्रभावमा पार्छन् । यसरी प्रभावित पार्नका लागि घरै बसीबसी सजिलै आम्दानी, कमिशन आम्दानी वा आंशिक रोजगारीको प्रस्ताव दिन्छन् र प्रभावित पार्छन् । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार, प्रायः यस्तो जालोमा गृहणी र यूवा उमेरकाहरू पर्ने गरेका छन् ।
यसरी विभिन्न प्रलोभन र प्रभावमा पारेर बैंक खाता प्रयोग गर्ने स्वीकृति पाइसकेपछि गैरकानूनीरूपमा प्राप्त गरेको रकमलाई त्यस्तो बैंक खातामा पहिले जम्मा गर्ने काम गरिन्छ। जसलाई वित्तीय अपराधमा ‘मनी ल्याण्डिङ’ पनि भनिने गरेको छ। यसरी पैसा जम्मा भइसकेपछि त्यहाँबाट नगदै रकम झिकेर वा पुनः बैंकिङ माध्यमबाट तेश्रो व्यक्तिको खातामा पठाउने र झिक्ने काम हुन्छ।
यति पुरै चक्र चलिरहँदा लाखको कारोबारमा हजार र करोडको कारोबारमा लाख रूपैयाँसम्मको कमिशन दिने प्रस्ताव गरिएको हुन्छ। शुरूमा पैसा दिएर प्रभावमा पार्छन् भने पछि कारोबार सकिएपछि सम्पर्कविहीन भइदिन्छन् । र प्रहरीले वित्तीय अपराधको अनुसन्धान गर्ने क्रममा आफ्नो खाता अरूलाई प्रयोग गर्न दिने व्यक्ति कानूनी कारवाहीको भागिदार बन्न जान्छ।
त्यसैले यस्तो अपराधबाट जोगिनका लागि तलका अवस्थाहरू देखिएमा विशेष सावधानी अपनाउनुहोस्:
• कसैले तपाईको बैंक खाता प्रयोग गरेबापत पैसा, कमिसन, उपहार वा पुरस्कार दिने प्रस्ताव गर्नु।
•खातामा आएको रक्तम तुरुन्ते अर्को व्यक्ति वा खातामा पठाउन भनिनु।
•अपरिचित व्यक्ति वा असम्बन्धित स्रोतबाट रकम प्राप्त भई त्यसलाई अन्यत्र पठाउन निर्देशन दिइनु।
•सामाजिक सञ्जाल, म्यासेजिङ एप, एसएमएस, इमेल वा फोनमार्फत सजिलो आम्दानी, घर बसि काम गर्ने अवसर वा पार्ट-टाइम रोजगारीको प्रस्ताव आउनु।
• एटिएम कार्ड, चेकबुक, पिन, ओटीपी, पासवर्ड, मोबाइल बेंकिड् विवरण वा अन्य बैंकिङ जानकारी मागिनु।
• कुने वैध उद्देश्य बिना नागरिकता, राहदानी, फोटो, बैंक स्टेटमेन्ट वा अन्य परिचयपत्रका प्रतिलिपि मागिनु।
• रकमको स्रोत वा प्रयोजन स्पष्ट नहुनु वा सन्तोषजनक रूपमा व्याख्या गर्न नसकिनु।
• आफ्नो खाता, वालेट वा डिजिटल बैंकिड सेवा अरूका लागि प्रयोग गर्न आग्रह।
• बैंक खाता वा वित्तीय सेवा प्रयोग गर्न अनुमति दिएवापत पुरस्कार वा आम्दानीको प्रलोभन।
• अरूबाट प्राप्त रकम प्रयोग गरी क्रिप्टोकरेन्सी खरिद, बिक्री, प्राप्त वा स्थानान्तरण गर्न भनिनु।
•कारोबार तपाईको सामान्य वित्तीय गतिविधिसँग मेल नखाने वा अस्वाभाविक देखिनु।












