काठमाडौं । म्याक्सस नेपालले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित समुदायहरूलाई करिब ८० लाख रुपैयाँ बराबरको राहत सहयोग प्रदान गरेको छ ।
एसएआइसी म्याक्सस चीनको सहयोग तथा हिमालय अर्गनाइजेसनको समन्वयमा यो सहयोग उपलब्ध गराइएको हो, जसमा प्रत्यक्ष आर्थिक सहयोगका साथै दिगो स्वच्छ खानेपानी प्रणाली र अत्यावश्यक राहत सामग्रीहरू समावेश छन् ।
वितरण गरिएका सामग्रीहरूमा ओछ्यान (डसना, सिरानी, तन्ना), औषधि, आधारभूत स्वास्थ्य सामग्री, खाद्यान्न, तरकारी, खाना पकाउने भाँडाकुँडा र लत्ताकपडाहरू रहेका छन् ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँको चेक केही दिनअघि नै माननीय अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिसकेको छ । बाँकी करिब ३० लाख रुपैयाँ बराबरको सहयोग भने नुवाकोटको त्रिशूली नदी आसपासका प्रभावित क्षेत्रहरूमा प्रत्यक्ष रूपमा परिचालन गरिएको छ । त्यहाँका दुईवटा होल्डिङ सेन्टरहरूमा स्वच्छ खानेपानीका लागि ‘अल्ट्रा फिल्टर वाटर ट्रिटमेन्ट प्लान्ट’ जडान गरिनुका साथै झन्डै ४०० जनालाई पुग्ने अत्यावश्यक राहत सामग्री वितरण गरिएको छ ।
विपद् प्रभावितहरूको सहजताका लागि नुवाकोटको त्रिशूलीस्थित श्री भैरम माध्यमिक विद्यालय र विदुर नगरपालिकाको त्रिशूली प्राथमिक विद्यालयमा सौर्य ऊर्जामा आधारित पानी शुद्धीकरण प्रणाली जडान गरिएको छ ।
प्रतिघण्टा १,००० लिटर पानी शुद्धीकरण गर्ने क्षमता भएका यी प्रणालीहरूले हाल त्यहाँ अस्थायी आश्रय लिइरहेका करिब ५०० परिवारलाई सुरक्षित खानेपानी उपलब्ध गराउनेछन् । विद्यालय पुनः सञ्चालनमा आएपछि यसबाट विद्यार्थीहरू समेत लाभान्वित हुनेछन् ।
राहत सामग्री वितरण कार्यक्रममा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा, प्रबन्ध निर्देशक मिलन थापा तथा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपालका चिफ गभर्नर रामराजा थापा लगायतका पदाधिकारीहरूको प्रत्यक्ष संलग्नता रहेको थियो ।












