काठमाडौं। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत बीमालेख र अतिरिक्त सुविधासम्बन्धी प्रावधानविपरीत आफूखुसी सर्तहरु तोकेर दुःख दिन थालेको गुनासो बीमितले गरेका छन्।
इन्स्योरेन्स खबरलाई पीडित बीमितबाट प्राप्त गुनासोअनुसार केही जीवन बीमकले यस्तो सीमालाई २० लाखदेखि ३० लाख रुपैयाँभित्र सीमित राखेका छन्। यसबाहेक मूल बीमालेखमै समावेश गरिएको दुर्घटना मृत्यु लाभसम्बन्धी सुविधा पनि बीमकले छनौट गर्ने अवसर नदिएर आफैँले निर्धारण गरेको गुनासोसमेत बीमितको छ।
बीमा प्राधिकरणले घातक रोगको उपचारका लागि बीमकलाई ५० लाख देखि १ करोड रुपैयाँसम्मको उपचार खर्च उपलब्ध हुने गरी ‘सीआई राइडर’सम्बन्धी स्वीकृति प्रदान गरेको छ। यस अतिरिक्त सुविधाअन्तर्गत बीमकले बीमांकको सीमा वा अधिकतम ५० लाख रुपैयाँमध्ये जुन कम हुन्छ, त्यति रकमबराबरको उपचार सुविधा समावेश गर्ने छनौट बीमितलाई दिनुपर्छ। तर, केही जीवन बीमकले यस्तो सीमालाई आफूखुसी तोकेर आर्थिक क्षमता भएका र पूर्ण रुपमा शारीरिक स्वस्थ्यता भएका बीमितलाई समेत वञ्चित गराइरहेका छन्।
‘म शारीरिक रुपमा पूर्ण स्वस्थ्य छु, मैले मेरो मेडिकल रिपोर्ट पनि उपलब्ध गराएको छु’, एक पीडित बीमितले गुनासो गर्दै भने, ‘तर, बीमा कम्पनीले ५० लाख रुपैयाँको मिल्दैन २० लाख रुपैयाँको मात्र पाइन्छ भन्ने जबाफ दिइरहेको छ।’ मेडिकली अनफिट (शारीरिक रुपमा अस्वस्थ्य) रहेको अवस्थामा बीमकले मूल बीमालेखमा समावेश गरिने घातक रोग उपचार सुविधा(सीआई राइडर) अस्वीकृत गर्न सक्छ तर पूरक करारको अधिकतम सीमाभित्र रहेर बीमांकबराबरको जोखिम समावेश नगर्ने छुट हुँदैन।
एक बीमितका अनुसार उनी स्वदेश बाहिर रहेकाले बीमालेख खरिद गरेको तेस्रो वर्षदेखि २ वर्षसम्म बीमाशुल्कबापतको रकम भुक्तानी गर्न सकेनन्। किनकि सम्बन्धित बीमकले उनले खरिद गरेको बीमालेखको बीमाशुल्क डिजिटल भुक्तानी वा अनलाइन माध्यमबाट भुक्तानी गर्ने सुविधा नै दिएको छैन। ती बीमितका अनुसार हरेक वर्ष बीमाशुल्क भुक्तानी गर्नका लागि बीमकको कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता छ। अनलाइन माध्यमबाट भुक्तानी नगर्न पाउँदा पटक–पटक विलम्ब शुल्क भुक्तानी गर्नुपरिरहेको छ।
अर्का एक बीमितले दिएको जानकारीअनुसार उनले सुरुमा बीमांकको २ गुणाबराबर हुनेगरी दुर्घटना मृत्यु लाभ सुविधा रोजेका थिए। बीमकले समयमै जानकारी (इमेलमार्फत् सूचना) नदिएकाले उनले विदेशबाट नविकरण बीमाशुल्क भुक्तानी गर्न सकेनन्। उनले एक–दुईपटक अनलाइन माध्यमबाट नविकरण बीमाशुल्क भुक्तानी गर्ने प्रयास गर्दासमेत ग्राहक सेवा केन्द्रका प्रतिनिधिले यो बीमालेखको नवीकरण बीमाशुल्क हाम्रो शाखाबाटै भुक्तानी गर्नुपर्छ भन्ने प्रतिक्रिया दिए।
तीन वर्षपछि उनी स्वदेश फर्किएर जरिवानासहित बीमालेख नवीकरण गराउन खोज्दा बीमकको कर्मचारीले उनलाई एउटा मञ्जुरीनामा भर्न लगाए जसमा साबिकको दोहोरो दुर्घटना लाभको साटो बीमांकबराबरको मात्र दुर्घटना लाभ लिन मञ्जुरी छ भन्ने व्यहोरा उल्लेख थियो। यसरी उनलाई जबरजस्ती बीमांकबराबरको दुर्घटना लाभ सुविधाका लागि मञ्जुरी जनाउन बाध्य बनाइयो।
बीमा ऐन २०७९ को दफा ६९ मा बीमकले गर्न नहुने कामसम्बन्धी प्रावधान समेटिएको छ। यो दफाको उपदफा (१) (घ) मा प्राधिकरणले स्वीकृत गरेको ढाँचामा बाहेक अन्य कुनै ढाँचामा बीमालेख जारी गर्न र उपदफा (१) (ङ) मा स्वीकृत बीमालेखबाहेक अन्य कुनै प्रकारको बीमालेख जारी गर्न नहुने व्यवस्था छ।
बीमितले पाउँदैनन् सूचना
इन्स्योरेन्स खबरले प्राप्त गरेको अर्को गुनासो जीवन बीमालेख नवीकरण गर्नुपर्ने मितिबारे बीमितलाई ई–मेलमार्फत जानकारी नै गराइएको छैन। पछिल्लो समयमा नेपालबाट बीमितहरु उच्च शिक्षा वा वैदेशिक रोजगारीको सिलसिलामा विदेश पलायन हुने क्रम बढेको छ। ई–मेलमार्फत जानकारी नदिँदा लामो समयका लागि नेपालबाट बाहिर बस्ने बीमितले पूर्व जानकारीको अभावमा बीमालेखको नियमित किस्ता भुक्तानी गर्न वा आवधिक लाभहरु प्राप्त गर्नबाट वञ्चित हुनुपर्ने अवस्था छ।
बीमकले सम्भव भएसम्मका सबै सञ्चारमाध्यमबाट बीमितलाई जीवन बीमालेख सेवा (नवीकरण मिति, बीमाशुल्क भुक्तानी गरिएको पुष्टि, जीवित लाभ भुक्तानी लिनुपर्ने मिति, कर्जाको साँवा ब्याज भुक्तानी गर्नुपर्ने मिति, बीमालेख जफत गर्नुअघिको पूर्वसूचना, परिपक्व मिति, बीमा दाबी) सम्बन्धमा सूचना दिनुपर्छ। तर, बीमकले एसएमएसमार्फत मात्र सूचना पठाउने गरेको र त्यस्तो सूचनासमेत नियमित रुपमा आफूहरुले नपाएको गुनासोसमेत बीमितहरुको छ।
बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले स्वीकृत बीमालेख र अतिरिक्त सुविधासम्बन्धी प्रावधानविपरीत कुनै पनि बीमकले आफूखुसी सर्त तोक्न नपाउने बताए। ‘बीमितलाई दुःख नियतले यदि कुनै कम्पनीले आफूखुसी सर्त राख्छन् भने त्यस्ता बीमकलाई प्राधिकरणले कारबाही गर्छ’, उनले भने, ‘प्रमाणसहित कोही बीमितले उजुरी दिएको अवस्थामा प्राधिकरणले कारबाही गरेको पनि छ। त्यसैले यदि कोही बीमित मर्कामा परेका छन् भने प्राधिकरणमा उजुरी दिन म आग्रह पनि गर्छु।’












