काठमाडौं । नेपाल तिब्बत सीमा क्षेत्रको लाङटाङ रेन्जमा भएको हिमनदी (ग्लेसियर) विस्फोट र त्यसपछिको अकस्मात बाढीले ठूलो संख्यामा हताहती भएको छ। यो हताहतीसँगै जीवन बीमा कम्पनीहरुमा पनि मृत्यु दाबीको दबाब बढ्ने देखिएको छ।
जलविद्युत आयोजना, व्यावसायिक संस्था र उद्योग अनि कलकारखानामा कार्यरत जनशक्तिको निधन भएको अवस्थामा त्यसको क्षतिपूर्ति ‘कन्ट्रयाक्टर अल रिस्क’ अर्थात् ठेकेदार सम्पूर्ण बीमा वा गहन बीमामार्फत निर्जीवन बीमा कम्पनीले व्यहोर्नेछन्। यसबाहेक जीवन बीमा गरिएका सर्वसाधारणको हकमा जीवन बीमा कम्पनीले दाबी भुक्तानी गर्नुपर्नेछ।
मृतकको संख्या अहिले नै यकीन हुन सकेको छैन। आफन्तजन गुमाएकाहरुले उनीहरुको अवस्थाबारे यकीन जानकारी प्राप्त गर्न सकेका छैनन्। मृत्यु भएको आशंका गरिएकाहरुको पनि शव फेला परेको वा पहिचान हुन सकेको छैन।
लेदोसहितको शक्तिशाली बाढीको चपेटामा परेर नेपालतर्फ १ हजारभन्दा बढीको ज्यान पुष्टि भइसकेको छ भने ४ हजारभन्दा बढी मानिस अझै बेपत्ता छन्। यो दुवै संख्या अझै बढ्न सक्ने प्रवल सम्भावना छ। बाढीले बगाएका केही शव सीमापारि भारतसम्म पुगेको हुन सक्ने आशंका गरिएका छन्। जलविद्युत आयोजनाहरु रसुवागढी, चिलिमे, त्रिशूली ३ ए र देवीघाटलगायतका करिब दर्जन नजिकका जलविद्युत आयोजनाका सुरुङभित्र तथा आसपास काम गरिरहेका थुप्रै कामदार र कर्मचारी सम्पर्कविहीन छन्।
जीवन बीमा कम्पनीहरुका अनुसार जीवन बीमाका लागि काठमाडौं उपत्यका नजिकका रसुवा, नुवाकोट र धादिङ तीनवटै जिल्ला उपयुक्त बजारका रुपमा लिइन्छ। यी बजारका बासिन्दा कृषि पेसाका अतिरिक्त बसाइसराइ गरेर काठमाडौं बसोबास गर्ने, वैदेशिक रोजगारी, व्यापार व्यवसाय तथा आयात निर्यात कारोबारमा संलग्न हुने भएकाले जीवन बीमाका लागि बचत गर्न सक्ने क्षमता सामान्यदेखि उच्चसम्म रहेको छ।
इन्स्योरेन्स खबरले गरेको सोधपुछका क्रममा बीमकहरुले यी जिल्लामा २ लाखदेखि २ करोड रुपैयाँसम्मको बीमांकका बीमितहरु रहेका छन् । तीमध्ये केहीको स्थायी ठेगाना बाढी प्रभावित जिल्लाहरुमा रहे पनि बसोबासका हिसाबले काठमाडौं उपत्यकाको बालाजु, मनमैजु, थानकोट, सितापाइला आसपासका क्षेत्रमा उनीहरुको स्थायी अस्थायी बसोबास रहने गरेको छ।












