काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लगानी विविधीकरण नीतिअन्तर्गत शैक्षिक संस्थामा गरेको लगानीले पहिलो वर्षमै ५० प्रतिशत बोनस उपलब्ध दिलाएको छ। काठमाडौंमा उच्च माध्यामिकदेखि स्नातकोत्तर तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको प्रोफेसनल होल्डिङ्गस लिमिटेडमा गरेको लगानीका लागि पहिलो वर्षमै उच्च लाभांश प्राप्त गरेको हो।
नेपाल लाइफले प्रकाशन गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षक २०८२।८३ मा ५० प्रतिशत बोनस शेयरबापत ९ लाख २१ हजार ५१२ कित्ता शेयर प्राप्त गरेको छ। प्रोफेसनल होल्डिङ्गसमा नेपाल लाइफले कुल १८ लाख ४३ हजार २२४ कित्ता शेयर खरिद गरेकोमा बोनस शेयरसमेत थपिएर २७ लाख ६४ हजार ७३६ शेयर कित्ता स्वामित्व कायम भएको थियो।
नेपाल लाइफले प्रोफेसनल होल्डिङ्गसमा प्रतिकित्ता १०० रुपैयाँ अंकित शेयरमा थप ३०० रुपैयाँ प्रिमियमसहित ४०० को दरले शेयरपुँजी लगानी गरेको थियो । प्रोफेसनल होल्डिङ्गसअन्तर्गत ग्लोबल कलेज, युनिग्लोब कलेज, युनिग्लोब उच्च माध्यमिक विद्यालय, ग्लोबल आईटी कलेज लगायतका शैक्षिक संस्था सञ्चालनमा छन्। यीमध्ये अधिकांश कार्यक्रम मध्य बानेश्वरस्थित परिसरमा सञ्चालनमा रहेका छन्।
युनिग्लोब हाइयर सेकेन्डरी स्कुल केटीएम लिमिटेडबाट पनि इन्स्योरेन्सले ५० प्रतिशत बोनस शेयर प्राप्त गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा प्रतिकित्ता ४०० रुपैयाँका दरले कुल १ लाख ५० हजार कित्ता शेयर खरिद गरेकोमा बोनस शेयरवापत ७५ हजार कित्ता पाएको हो।
व्यवस्थापन संकायको शैक्षिक कार्यक्रमका लागि चिनिएको ग्लोबल कलेजले सूचना प्रविधि विषयमा वैदेशिक शैक्षिक कार्यक्रम कार्यक्रमसमेत सञ्चालनमा ल्याएको छ। व्यवस्थापन संकायको शैक्षिक कार्यक्रमका लागि चिनिएको यो कलेजलाई अब उत्कृष्ट सूचना प्रविधि कलेजका रुपमा समेत स्थापित गर्ने रणनीति लिएको छ।
प्रोफेसनल होल्डिङ्गसले मध्यबानेश्वरमा आफ्नै स्वामित्वमा रहेको जग्गामा भवन निर्माण गरेर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ।
मुद्दति निक्षेपको ब्याजदर घट्दा जीवन बीमा कम्पनीहरुको लगानी प्रतिफल (इन्भेस्टमेन्ट इल्ड) क्रमशः घट्दै गइरहेका बेला लगानी विविधिकरण गरिएका क्षेत्रबाट प्राप्त प्रतिफलले कम्पनीलाई केही राहत हुने देखिएको छ।












