काठमाडौं । बैंकिङ कसुरमा फरार रहेकी प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मि पन्त पक्राउ परेकी छन्।
पन्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पक्राउ गरेको हो। उनलाई काठमाडौंको तीनकुनेबाट नियन्त्रणमा लिएको सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले बताए। उनका अनुसार पन्तलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर म्याद थपको प्रक्रिया बढाइनेछ।
पन्तमाथि बैंकबाट गएको ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग भएको अभियोग लागेको छ। उक्त कर्जा एसियन नभिलेज रिसोर्टका अध्यक्ष शशिधर शर्माले बैंकबाट लिएका थिए।
नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले विशेष स्थलगत निरीक्षणपछि तयार पारेको प्रतिवेदनमा शर्माले रिसोर्ट निर्माण र जग्गा खरिद गर्नका लागि लिएको कर्जा अन्य ऋणको बक्यौता तिर्न प्रयोग गरेको देखिएको उल्लेख छ।
त्यसो त उक्त कर्जा बैंकको नाममा जग्गा दृष्टिबन्धक नै नगरी पछि गर्ने भन्ने कबुलियतनामा तयार गरी शर्मालाई दिइएको खुलेको थियो।
कर्जा दुरुपयोग गरेका शर्मालाई सीआईबीले गत असार ३० गते पक्राउ गरेको थियो।












