काठमाडौं । नेपाल राष्ट्र बैंकले निष्कृय अवस्थामा रहेका बैंक खातालाई तत्काल बन्द गराउन वा सकृय गराउन बैंक वित्तीय संस्थालाई निर्देशन दिएको छ। बैंक वित्तीय संस्थाले प्रत्येक ६ महिनाको अन्तरालमा ग्राहकलाई खाता सकृय गराउन वा बन्द गर्न सूचना दिनुपर्ने भएको छ।
वित्तीय अपराधमा प्रयोग भएका बैंक खाताहरूमध्ये अधिकांश घटनामा निष्कृय बैंक खाताको प्रयोग भएको पाइएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै नयाँ परिपत्र जारी गरेको छ। निष्कृय बैंक खातामा अनधिकृत पहुँचले वित्तीय अपराधको जोखिम झन् झन् बढेको निष्कर्षसहित राष्ट्र बैंकले सख्ती अपनाउन बैंक वित्तीय संस्थालाई निर्देशन दिनुपरेको हो।
राष्ट्र बैंकका अनुसार, निष्कृय रहेका खाताहरू अनधिकृत व्यक्तिले दुरुपयोग गर्ने वा वित्तीय अपराध (मनी म्युल Money Mule) मा प्रयोग हुने जोखिम उच्च हुन्छ। राष्ट्र बैंकको नयाँ नियम अनुसार बैंकहरूले यस्ता खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्ने र ग्राहकमा जनचेतना फैलाउने भएकाले साधारण उपभोक्ताहरू अनजानमै वित्तीय अपराध वा कानूनी फन्दामा पर्नबाट जोगिनेछन्। यस निर्णयले विशेष गरी निष्कृय खाता भएका तथा खाता बन्द गर्न चाहने साधारण ग्राहक वा उपभोक्ताहरूलाई ठूलो राहत र सुविधा पुर्याउने देखिन्छ।
१. जुनसुकै शाखाबाट खाता बन्द गर्न सकिनेः
ग्राहकले आफूले प्रयोग गर्न नचाहेको बैंकको खाता सम्बन्धित बैंकको जुनसुकै शाखा कार्यालयबाट बन्द गराउन सक्ने सुविधा उपलब्ध गराइएको छ। यसबाहेक आफूले लिएको चेक बुकको सबै पाना फिर्ता नगरे बैंकले जरिवाना लिने गरेकोमा अहिले यस्तो व्यस्था खारेज गरिएको छ। ग्राहकले राष्ट्रिय परिचय पत्र वा नागरिकता प्रमाण पत्र बोकेर सम्बन्धित बैंकको शाखामा गएर निवेदन दिएको आधारमा निःशुल्करूपमा खाता बन्द गर्ने सुविधा उपलब्ध छ।
राष्ट्र बैंकले प्रविधिको प्रयोग गरेर बैंक नै नगई मोबाइल बैंकिङ एप वा वेब मार्फत घरमै बसेर सहज रूपमा खाता बन्द गर्न सक्ने सुविधा प्रदान गर्न राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाइ निर्देशन दिएको छ।
२. खाताको बाँकी रकम अन्य बैंकमा रकमान्तर हुने
ग्राहकले उपस्थित भई वा अनलाइन (एप/वेब) मार्फत खाता बन्द गर्न अनुरोध गर्दा, उक्त खातामा बाँकी रहेको मौज्दात ग्राहकले चाहेको अन्य जुनसुकै बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरी खाता बन्द गरिदिने व्यवस्था अनिवार्य गरिएको छ। यसले पैसा निकाल्न लाइन बस्नुपर्ने झन्झट हटाएको छ।
३. जुनसुकै शाखाबाट खाता पुनः सकृय गर्न मिल्ने
कुनै खाता निष्कृय भएको खण्डमा ग्राहकले आफ्नो पहिचान (केवाइसी) प्रमाणीकरण गरी नेपालभरका जुनसुकै शाखा कार्यालयबाट सजिलैसँग खाता पुनः सक्रिय गराउन सक्नेछन्। यसका लागि मुख्य शाखा नै पुग्नुपर्ने बाध्यता हटेको छ।
४. खाता निष्कृय हुनुअगावै पूर्वजानकारी पाइने
ग्राहकको सक्रिय खाता निष्कृय हुनुभन्दा अगाडि बैंकहरूले फोन, एसएमएस वा इमेल मार्फत नियमित रूपमा जानकारी गराउनु पर्नेछ। यसले गर्दा ग्राहक आफ्नो खाताप्रति सचेत रहन पाउँछन् र खाता निष्कृय हुनबाट बचाउन सक्छन्।
५. निष्कृय खाता सक्रिय गराउन बैंकले नै घच्घच्याउने
यदि खाता निष्कृय भइसकेको छ भने पनि बैंकले कम्तिमा प्रत्येक ६ महिनाको अन्तरालमा ग्राहकलाई फोन, एसएमएस वा इमेल मार्फत खाता सक्रिय गराउन अनुरोध गर्नुपर्नेछ। यसले गर्दा ग्राहकले आफ्नो पुरानो वा बिर्सिएको खाता र त्यसमा रहेको रकमबारे जानकारी पाइरहनेछन्।
बैंकको सूचना प्रविधि प्रणालीमा ठूलो संख्यामा निष्कृय खाताको उपस्थिति रहँदा बैंकको व्ययभार पनि अनावश्यक थपिने गरेको छ। कारोबार नहुने तर समय समयमा सूचना पठाउनुपर्ने, सूचना प्रविधि प्रणाली व्यवस्थापनको जिम्मेवारी पाएको संस्थालाई खाताको तथ्याङ्क व्यवस्थापनवापत चर्को सेवा शुल्क नियमितरूपमा भुक्तानी गरिरहनुपर्ने बाध्यता छ। यसले आम्दानीमा योगदान नहुने तर वित्तीय दायीत्व थपिरहने समस्या छ।
अब राष्ट्र बैंकको यो उपभोक्तामैत्री कदमले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्नुका साथै ग्राहकको समय, श्रम र खर्चको बचत गराउनेछ। बैंक सुरक्षित राख्ने र खाता व्यवस्थापन गर्ने अधिकार पूर्ण रूपमा ग्राहकको हातमा सुम्पिएको छ।












