काठमाडौं । हालै रसुवा लगायतका जिल्लामा आएको बाढी तथा प्राकृतिक विपद्का कारण भएको मानवीय क्षति, जनधन तथा भौतिक संरचनामा पुगेको क्षतिप्रति नेपाल बैंकर्स संघले गहिरो दुःख व्यक्त गरेको छ । यस विपदमा ज्यान गुमाएका सम्पूर्णप्रति संघ हार्दिक श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै यस कठिन घडीमा सम्पूर्णमा धैर्यताका साथ अघि बढ्ने शक्ति मिलोस भन्ने कामना संघले गरेको छ ।
संघले विज्ञप्तीमा भनेको छ, ‘बाढी प्रभावित जिल्लाहरुमा कार्यरत अधिकांश बैंक कर्मचारीहरू सुरक्षित रहेको जानकारी प्राप्त भएको छ भने केही कर्मचारीहरूसँग हालसम्म सम्पर्क स्थापित हुन नसकेको अवस्था छ । बाढी तथा डुबानका कारण प्रभावित जिल्लाहरुमा बैंकका केही शाखाहरु समेत प्रभावित भएका छन् । त्यसका साथै विद्युत, इन्टरनेट तथा सञ्चार सेवामा आएको अवरोधका कारण प्रभावित जिल्लाहरुमा नियमित बैंकिङ्ग सेवा सञ्चालनमा समेत चुनौती देखिएको छ । यद्यपि, बैंकहरूले उपलब्ध स्रोत, साधन र वैकल्पिक व्यवस्थाको अधिकतम उपयोग गर्दै सेवा निरन्तरता कायम गर्न तथा प्रभावित सेवाग्राहीलाई आवश्यक सहयोग उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहेका छन् । नेपाल बैंकर्स संघले यस विपद्को समयमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढेको छ ।’
नेपालको बैंकिङ्ग क्षेत्र यस कठिन परिस्थितिमा नेपाल सरकारको राहत, उद्धार तथा पुनस्र्थापना प्रयासमा साथ दिन पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ । प्रभावित कर्मचारी, उनका परिवार तथा आम नागरिकलाई आवश्यक सहयोग पु-याउन बैंकिङ्ग क्षेत्रले आफ्नो तर्फबाट सक्दो योगदान गर्ने जनाएको छ ।
नेपाल बैंकर्स संघ सरकारसँगको सहकार्यमा राहत, उद्धार, सेवा निरन्तरता तथा पुनस्र्थापनाका लागि आफ्ना सदस्य बैंकहरूसँग समन्वय गरी आवश्यक सहयोग तथा सहजीकरणका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।












