काठमाडौं । जीवन बीमाका लागि बीमा गर्न चाहने प्रस्तावक, मध्यस्थकर्ता अर्थात् अभिकर्ता र बीमा कम्पनी तीनवटै पक्षको सक्रिय भूमिका आवश्यक हुन्छ।
कुनै पनि व्यक्तिले जीवन बीमा गर्ने सोच बनाएको अवस्थामा वा कुनै अभिकर्ताले बीमाका लागि प्रेरित गरेको अवस्थापछि जीवन बीमाको औपचारिक चरण सुरु हुन्छ। स्वेच्छा वा अभिकर्ताको सुझावमा कुन कम्पनीबाट कस्तो बीमा योजना खरिद गर्ने भन्ने निर्णय प्रस्तावकले गर्नुपर्छ। यसरी निर्णय लिइसकेपछि आफूसँग सम्पर्कमा रहेको अभिकर्ता वा रोजेको बीमा कम्पनीको शाखा कार्यालयबाट प्राप्त हुने बीमा प्रस्ताव फारम भर्ने चरण पुरा गर्नुपर्छ। प्रस्ताव फारमसँगै ग्राहकले बीमित पहिचान फारम (केवाईसी) समेत आवश्यक विवरण भरेर बीमकलाई दिनुपर्छ।
ग्राहक पहिचानको प्रक्रिया
प्रस्तावसँगै प्राप्त केवाईसी फारमको बीमकले सबैभन्दा पहिले आवेदकको नाम, थर, लिंग, उमेर, ठेगाना, पेसा, ई–मेल, मोबाइल नम्बर, बैंक खाता नम्बर, नागरिकता वा राष्ट्रिय परिचयपत्र नम्बरसहितको विवरण सफ्टवेयरमा प्रविष्ट गर्ने काम हुन्छ। यति काम सकिएपछि सफ्टवेयरले ग्राहक पहिचान नम्बर जारी गर्छ। बीमालेख जारी गर्ने बाँकी प्रक्रियासँग सम्बन्धित सबै विवरणलाई यसै पहिचान नम्बरमार्फत एकीकृत हुने गरी सफ्टवेयरमा व्यवस्था गरिएको हुन्छ।
जोखिमांकनका प्रक्रिया
ग्राहकले दिएको प्रस्ताव फारममा उल्लेखित विवरणको आधारमा बीमकको शाखा प्रबन्धक र जोखिमांकन विभागले बीमालेख प्रस्तावमा जोडिएको जोखिमको प्रारम्भिक मूल्यांकन गरिदिन्छन् र तोकिएको मापदण्डअनुसार स्वास्थ्य परीक्षण प्रतिवेदन आवश्यक पर्ने भए स्वास्थ्य परीक्षणका लागि तोकिएको स्वास्थ्य संस्था वा प्रयोगशालामा जान सुझाव दिन्छन्।
जोखिमांकन गर्ने क्रममा बीमितको आम्दानीको स्रोत, पेसाको जोखिम, पेसाको स्थायित्व, उमेर, स्वास्थ्य स्थिति, बीमाको उद्देश्यलगायतको पक्ष मिहीन ढंगबाट केलाएर प्रस्ताव स्वीकार्ने वा नस्वीकार्ने निर्णय गर्ने अभ्यास छ।
बीमकले पूर्वनिर्धारित मापदण्डअनुसार स्वास्थ्य परीक्षण प्रतिवेदन आवश्यक नपर्ने बीमितको हकमा जोखिमांकन (अन्डरराइटिङ) को प्रक्रिया सम्पन्न गरिदिन्छ भने स्वास्थ्य परीक्षण प्रतिवेदन आवश्यक पर्ने हकमा प्रतिवेदन प्राप्त भएपछि सोबारे चिकित्सकीय परामर्शका आधारमा बीमा गर्ने वा नगर्ने निर्णय लिन्छन्।
पुनर्बीमाको प्रक्रिया
जीवन बीमाको जोखिमांकनमा स्वधारण (रिटेन्सन) सीमाभन्दा अधिकको बीमांकको हकमा बीमकले पुनर्बीमकबाट समर्थन प्राप्त गर्नुपर्छ। बीमालेखको जोखिमांकन प्रतिवेदन पुनर्बीमकलाई उपलब्ध गराइएपछि पुनर्बीमकले सहमति दिएको अवस्थामा मात्र प्रस्ताव स्वीकृत हुन्छ। अन्यथा बीमकले बीमा गर्न इन्कार गरिदिन्छ। यसबाहेक बीमकले बीमितलाई बीमांक रकम घटाएर थोरै रकमको मात्र बीमा गर्न सुझाव दिन्छन्।
बीमालेख जारी गर्ने चरण
बीमा प्रस्ताव स्वीकार्ने निर्णय भइसकेपछि जीवन बीमकले बीमितलाई प्रथम बीमाशुल्कबापतको रकम जम्मा गर्न सूचना दिन्छ। बीमितले बीमालेखका लागि भुक्तानी गर्नुपर्ने रकम यकीन गरेर बीमकको बैंक खातामा जम्मा गरिदिनुपर्छ वा भुक्तानी दिनुपर्छ। हाल डिजिटल भुक्तानी वा अनलाइन ट्रान्सफर गरेर बीमशुल्क भुक्तानी गर्नुपर्छ।
बीमालेख हस्तान्तरण
बीमाशुल्क भुक्तानी प्राप्त गरेपछि जीवन बीमकले बीमालेख जारी गरिदिन्छ। बीमालेख जारी भएपछि बीमितलाई ई–मेल र एसएमएसमार्फत बीमालेख नम्बरसहितको जानकारी बीमकले दिएको हुन्छ। बीमालेखको फाइल तयार पारेर बीमित वा प्रस्तावलाई बीमा कम्पनीले प्रथम बीमाशुल्क रसिद र बीमालेख हस्तान्तरण गर्छन्। बीमित टाढा भएको अवस्थामा बीमकको कर्मचारी वा अभिकर्ता स्वयंले बीमितको घरदैलोसम्मै बीमालेख पुर्याइदिन्छन्।
बीमाका लागि रकम भुक्तानी गरिसकेपछि बीमितले तत्कालै बीमालेखको फाइल बीमक वा अभिकर्ताबाट प्राप्त गर्नुपर्छ। फाइल नपाएको अवस्थामा बीमकको कार्यालयमा सोधीखोजी गरेर माग्नुपर्छ।
बीमालेखको जानकारी
बीमालेखको फाइल हस्तान्तरण गर्ने क्रममा बीमितलाई बीमालेखका सेवा–सर्तका बारेमा विस्तारमा अभिकर्ता वा बीमाका कर्मचारीले जानकारी दिनुपर्छ। यसका साथै बीमाशुल्क कुन–कुन मितिमा र कति रकम र कसरी भुक्तानी गर्ने विषयमा पनि सजिलो गरी जानकारी गराइदिनुपर्छ। यसो हुँदा बीमितले बीमाशुल्क भुक्तानी गर्न बिर्सने वा लाभबाट वञ्चित हुनुपर्ने अवस्था हुँदैन।
बीमाबवापतको सेवा–सुविधा दाबी गर्न बीमालेखको कागजपत्र अत्यावश्यक हुने भएकाले यसलाई बीमितले सुरक्षित रुपमा राख्नुपर्छ।












