काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको गणित विज्ञान स्कूलले स्नातक तहको एक्चुअरियल साइन्स अर्थात गणित विज्ञान कार्यक्रममा स्नातक तहका लागि भर्ना खुलाएको छ।
सेमेस्टर प्रणालीमा आधारित यो चार वर्षे (आठ सेमेस्टर) कोर्षमा भर्ना हुन इच्छुक विद्यार्थीहरूका लागि नयाँ भर्ना कार्यक्रम प्रकाशित गरिएको हो।
भर्ना आवेदन दिनका लागि विद्यार्थीले उच्च माध्यमिक/माध्यमिक विद्यालयको जुनसुकै धारबाट १०+२ को परीक्षामा १०० पूर्णाङ्कको गणित वा वाणिज्य गणित विषयमा कम्तिमा ‘सी’ ग्रेड सहित फाइनल सीजिपिए न्यूनतम १.८ प्राप्त गरेको हुनुपर्नेछ। वा मान्यता प्राप्त शिक्षण संस्थाबाट १०० पूर्णाङ्कको गणित वा वाणिज्य गणित विषय लिई दोस्रो श्रेणीमा उत्तीर्ण भएको हुनुपर्नेछ।
यसबाहेक ए लेभल परिक्षामा १०० पूर्णाङ्कको गणित विषय लिई न्यूनतम ‘डी’ ग्रेड ल्याई उत्तीर्ण भएको हुनुपर्ने वा सिटिइभिटी अन्तर्गत जुनसुकै विषयमा तीनवर्षे डिप्लोमा तहमा १०० पूर्णाङ्कको गणित लिई कम्तिमा द्वितीय श्रेणीमा उत्तीर्ण गरेको हुनुपर्नेछ।
असार १० गतेदेखि साउन ७ गते बेलुका ५ बजेसम्म स्कूलको आधिकारिक वेबसाइट https://sms.tu.edu.np मार्फत अनलाईन फाराम भर्न सकिनेछ।
विद्यार्थीको छनोट लिखित परीक्षा, अन्तर्वार्ता र शैक्षिक योग्यताको प्राप्ताङ्कका आधारमा (कुल १०० पूर्णाङ्क) योग्यताक्रम सूची अनुसार गरिने विश्वविद्यालयले जानकारी दिएको छ। मूल्याङ्कनका लागि लिखित परीक्षा ८० अंक, अन्तर्वार्ता १० अंक र शैक्षिक योग्यता १० अंक भार दिइएको छ।
कक्षा ११ र १२ वा सोसरहको पाठ्यक्रममा आधारित गणित (४० अंक),अंग्रेजी (२० अंक) र सामान्यज्ञान (२० अंक) विषयको १ घण्टा ४५ मिनेटको ८० पूर्णाङ्कको बहु उत्तर प्रश्नावलीहरू सोधिनेछ। लिखित परीक्षामा उत्तीर्ण हुन न्यूनतम ३५% अङ्क प्राप्त गर्नुपर्नेछ।
गणित विज्ञान स्कुलका अनुसार, विद्यार्थी भर्नाका लागि लिखित परीक्षा श्रावण ११ गते सोमबार बिहान ८:०० बजे सञ्चालन हुनेछ। विद्यार्थीले नमूना प्रश्नपत्र स्कूलको वेबसाइटबाट प्राप्त गर्न सक्नेछन् । विद्यार्थी भर्नका लागि जम्मा ४० सिट निर्धारण गरिएको छ। यसमा ३२ जना खुल्ला र ८ जना समावेशी कोटाका लागि छुट्याइएको छ।
हरेक सेमेस्टरमा एकजना छात्र र एकजना छात्रालाई जेहेन्दार छात्रवृत्ति तथा १०% विद्यार्थीहरूलाई निःशुल्क छात्रवृत्ति प्रदान गरिने स्कूलका निर्देशकद्वारा जारी सूचनामा उल्लेख छ।












