काठमाडौं । देशभित्र आर्थिक मन्दी लम्बिँदै जाँदा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारतर्फ फर्किएका जीवन बीमा कम्पनीहरु अहिले मध्यपूर्व र खाडी मुलुकमा चर्किएको तनावका कारण अन्डरराइटिङमा कडिकडाउ गर्न बाध्य भएका छन्।
जीवन बीमकले इरान, इजरायल, दुबई, कतार, ओमान, आबुधाबी, यूएई देशमा कार्यरत नेपाली कामदारको जीवन बीमा प्रस्ताव अस्वीकृत गर्न थालेका हुन्। अमेरिका र इजरायलले इरानविरुद्ध धावा बोलेपछि प्रतिवादमा उत्रिएको इरानले खाडी मुलुकमा अवस्थित अमेरिकी सैन्य आधारहरुमा हवाई आक्रमण तीव्र बनाएपछि तनाव बढेको हो। यो परिस्थितिले नेपाली प्रवासी श्रमिक र जीवन बीमा कम्पनीहरुबीचको सम्बन्धमा पनि ठूलो प्रभाव पारेको छ।
नेपालका जीवन बीमा कम्पनीहरुले हालै प्रवासी नेपाली कामदारहरुको बीमा प्रस्ताव मूल्यांकन गर्दा ‘युद्ध वा युद्धजस्तै जोखिम’ प्रावधानलाई आधार बनाई आवेदन अस्वीकृत गर्न थालेका छन्।
जीवन बीमालेखको अपवादसम्बन्धी प्रावधानमा स्पष्ट रुपमा उल्लेख गरिएको हुन्छ कि सैन्य संघर्ष, युद्ध (घोषित वा अघोषित), विद्रोह वा त्यसैजस्ता जोखिमहरुमा बीमा सुरक्षा लागू हुँदैन। यस कारणले जीवन बीमा कम्पनीहरुले गल्फ र मध्यपूर्वबाट आएका नयाँ आवेदन अस्वीकृत गर्ने वा सोही सर्त लागू हुने गरी स्वीकृत गर्ने काम थालेका हुन्।
‘हामीले जोखिम बीमाशुल्क र बीमालेखको सुरक्षा दायरा दुवै विचार गरी निर्णय गर्छौं’, एक जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने, ‘अहिले देशभित्रको आर्थिक सुस्तताका बेला खाडी मुलुकबाट थोरबहुत व्यापार भइरहेको थियो। अहिलेको तनावपूर्ण वातावरणले त्यो पनि बन्द हुने स्थिति छ। यूद्ध लम्बिरहने हो भने अब वैदेशिक रोजगार बीमा पनि ठप्प हुन्छ।’
नेपाल बीमा प्राधिकरणले २० लाख रुपैयाँसम्मको जीवन बीमाका लागि स्वास्थ्य परीक्षण प्रतिवेदन आवश्यक नपर्ने प्रावधान लागू गरेकाले यही प्रावधानका आधारमा जीवन बीमकले वैदेशिक रोजगारीमा रहेका श्रमिकको जीवन बीमा गर्दै आएका छन्।
विवाद उठिरहेको छ कि नेपाल सरकार र नियामक निकायहरुले युद्धग्रस्त क्षेत्रका श्रमिकहरुको संरक्षणका लागि नीति र बीमा निर्देशिका कत्तिको प्रभावकारी बनाएका छन् ? के प्रवासी कामदारका लागि विशेष बीमा ढाँचा बनाउनुपर्छ ? युद्ध जोखिम स्पष्ट तर यथार्थपरक तरिकाले सम्बोधन गर्न सकिन्छ कि सकिँदैन ?
खासगरी जोखिमपूर्ण क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि बीमालेखमा स्पष्ट, पारदर्शी र निष्पक्ष नीति आवश्यक छ। जसले आम्दानी र जीवन दुवै पक्षको सुरक्षा ग्यारेन्टी गर्छ।
अहिलेको समय नेपाली श्रमिकका लागि चुनौतीपूर्ण छ। रोजगारी, रेमिट्यान्स र जीवन जोखिमबीच ठूलो असन्तुलन देखा परेको छ। बीमा उद्योगले जोखिमांकन कडा बनाएको छ भने नीतिनिर्माताले दीर्घकालीन रणनीति बनाउनुपर्ने आवश्यकता स्पष्ट भएको छ।












