काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानमा संकुचन आएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गण्डकी प्रदेशको चालु आर्थिक वर्ष २०८१।८२ को अर्धवार्षिक (साउन–पुस)सम्म आर्थिक गतिविधि प्रतिवेदनबाट यस्तो देखिएको हो। प्रतिवेदनअनुसार अघिल्लो वर्ष २०८०।८१ को तुलनामा हवाई उडान ७.६ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष पुससम्म २ अन्तर्राष्ट्रिय कम्पनीसहित २१ वटा विमान कम्पनीले ७ हजार ३ वटा उडान भरेकोमा समीक्षा अवधिमा घटेर ६ हजार ४७२ वटामा खुम्चिएको छ। समीक्षा अवधिमा ३ वटा अन्तर्राष्ट्रियसहित २१ वटा विमान कम्पनीले उडान भरेका छन्।
यसैगरी अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा हवाई कम्पनीको सिट उपयोग बढ्नाले उडान भर्ने यात्रुको संख्या ०.९ प्रतिशतले वृद्धि भने भएको छ। यसका साथै हवाई कम्पनीको सिट उपयोग ८१.०६ प्रतिशत रहेको छ।
समीक्षा अवधिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ वटा अन्तर्राष्ट्रिय उडान भई ११७ जना यात्रुले उडान भरेका छन्।













