काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्ष २०८०।८१ मा जीवन र निर्जीवन बीमकलाई ७३ वटा नयाँ बीमालेख प्रचलनमा ल्याउन इजाजत दिएको छ। प्राधिकरण अनुसार योमध्ये जीवन बीमकका २१, निर्जीवन बीमकका २७ वटा र लघु बीमकको २५ वटा बीमालेख छन् ।
नयाँ बीमालेख स्वीकृति लिने जीवन बीमकमध्ये, एशियन लाईफ इन्स्योरेन्सको सर्वाधिक ६ वटा जीवन बीमालेख रहेका छन् । एशियन लाईफले स्वीकृत गराएका ६ वटामध्ये चारवटा पुराना बीमालेखको परिमार्जित संस्करण र बाँकी दुईवटा मात्र नयाँ बीमालेख हुन् । प्राधिकरणका अनुसार, यी बीमालेखहरूमध्ये पाँचवटा सावधिक र एक वटा म्यादी जीवन बीमालेख रहेका छन् ।
यसैगरी आ.व. २०८०/८१ मा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तीन, नेपाल लाईफ इन्स्योरेन्सल र सूर्य ज्योती लाईफ इन्स्योरेन्सको दुई-दुई वटा नयाँ जीवन बीमालेख प्रचलनमा ल्याउन स्वीकृति पाएका छन् ।

प्राधिकरणका अनुसार, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको साथै भारतीय संयुक्त लगानीको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लि., अमेरिकी बीमकको शाखा मेट लाईफ (एलिको)ले एक एक वटा नयाँ जीवन बीमालेख प्रचलनमा ल्याएका छन् । यसबाहेक आईएमई लाईफ इन्स्योरेन्स, सन नेपाल लाईफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स, हिमालयन लाईफ इन्स्योरेन्स र प्रभु महालक्षमी लाईफ इन्स्योरेन्सको पनि एक-एक वटा नयाँ बीमालेख प्राधिकरणले स्वीकृत गरेको छ।
प्राधिकरणका अनुसार, सबै बीमालेख बिल्कुलै नयाँ विशेषता सहितको बीमालेख नभएर पहिले नै प्रचलनमा रहेका बीमालेखको विशेषतामा थपघट गरेर बीमकले नयाँ बीमालेख स्वीकृत गराएको हो। स्वीकृत नयाँ बीमालेखहरुमा सावधिक, अग्रिम भुक्तानी, म्यादी र सामूहिक जीवन बीमालेखहरू रहेका छन् ।
बीमा प्राधिकरणको जीवन बीमालेख निर्देशिका २०८० को प्रावधान अनुसार, पुराना बीमालेख परिमार्जन गरेर नयाँ बीमालेख जारी गर्नुपर्ने भएपछि सबै जीवन बीमकले बालबालिका सम्बन्धि नयाँ बीमालेख प्राधिकरणको स्वीकृति लिएर प्रचलनमा ल्याएका हुन् । बालबालिकाको जोखिम बहन हुने गरी नयाँ बीमालेख प्रचलनमा ल्याएपछि बालबालिका सम्बन्धि पुराना बीमालेखको बिक्री वितरण बन्द गरिएको छ।
निर्जीवन बीमालेख
आ.व. २०८०/८१ प्राधिकरणले २७ वटा नयाँ निर्जीवन बीमालेखहरुलाई स्वीकृति प्रदान गरेको छ। नेको इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको चार-चार वटा नयाँ बीमालेख प्रचलनमा ल्याएका छन् ।
दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी र शिखर इन्स्योरेन्सको तीन-तीन, नेशनल इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको दुई-दुई वटा नयाँ बीमालेख प्रचलनमा ल्याउन स्वीकृति प्राप्त गरेका छन् ।

नेपाल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा कम्पनी, सानिमा जिआइसी इन्स्योरेन्स, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स र यूनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको एक-एक वटा नयाँ निर्जीवन बीमालेखहरु प्राधिकरणबाट स्वीकृत गरिएको छ।
निर्जीवन बीमकको हकमा प्राधिकरणले मोटर बीमालगायतको बीमालेखको जोखिम बहन सम्बन्धि शर्त र विशेषताहरू परिमार्जन गरेकाले निर्जीवन बीमकले साबिकको बीमालेखका शर्तहरूमा परिमार्जन सहित नयाँ बीमालेख स्वीकृत गराएका छन् ।
लघु जीवन बीमक, गार्जियन माइक्रो लाइफ क्रेष्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको क्रमशः ७,६ र ८ वटा बीमालेख स्वीकृत गरिएको प्राधिकरणले जानकारी दिएको छ। यसबाहेक निर्जीवन बीमकको लागि सम्पत्ती, घर, सेंधमारी र दुर्घटना लघु बीमालेखको स्तरिकृत गरी जारी गरिएको छ।

















