काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म निर्जीवन बीमकहरुले २० अर्ब ८८ करोड रुपैयाँको व्यापार गर्न सफल भएका छन्।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले १३ लाख ८९ हजार ३१९ वटा बीमालेख जारी गरेर २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले १४ लाख २१ हजार ७६ वटा बीमालेख जारी गर्दै १९ अर्ब ३९ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार ७.७६ प्रतिशतले बढेको छ।
दोस्रो त्रैमाससम्म १२ वटा बीमकको व्यापार बढेको छ भने दुईवटा बीमकको घटेको छ। यो अवधिसम्म शिखर इन्स्योरेन्सले सर्वाधिक व्यापार भित्र्याएको छ भने व्यापार वृद्धिको हिसाबले नेपाल इन्स्योरेन्स अगाडि रहेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म शिखरले २ अर्ब ५९ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ अर्ब ४५ करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ५.६९ प्रतिशतले बढेको छ।
दोस्रो धेरै व्यापार भित्र्याउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। यो कम्पनीले चालु आर्थिक वर्षको पुससम्म २ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधसिम्म कम्पनीले २ अर्ब ३४ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ८.८० प्रतिशतले बढेको छ।
सिद्धार्थ प्रिमियर तेस्रो धेरै व्यापार भित्र्याउने कम्पनी बनेको छ। समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब १३ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ९७ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ८.३९ प्रतिशतले बढेको छ।
यसैगरी चालु आर्थिक वर्षको पुससम्म आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सले १ अर्ब ७१ करोड ८४ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ६६ करोड ५१ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ४० करोड ७० लाख रुपैयाँ र ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ३४ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्मको तुलनामा समीक्षा अवधिमा आईजीआई प्रुडेन्सियलको ४.५७ प्रतिशत, हिमालयन एभरेष्टको २.४४ प्रतिशत, नेकोको ३.२४ प्रतिशत, एनएलजीको १२.२९ प्रतिशत र ओरिएन्टलको ४३.८९ प्रतिशतले व्यापार बढेको छ।
चालु आर्थिक वर्षको पुससम्म युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब २० करोड ३७ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब १९ करोड ३१ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले १ अर्ब ९ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा समीक्षा अवधिमा युनाइटेड अजोडको व्यापार ७.८६ प्रतिशतले घट्दा सानिमा जीआईसीको ३.७३ प्रतिशत र नेपाल इन्स्योरेन्सको ४५.७२ प्रतिशतले बढेको छ। वृद्धिदरका हिसाबले नेपाल इन्स्योरेन्स अगाडि रहेको छ।
उता समीक्षा अवधिसम्म प्रभु इन्स्योरेन्सले ९० करोड ३९ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ७१ करोड २१ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ६२ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा प्रभु इन्स्योरेन्सको व्यापार ६.८० प्रतिशतले घटेको छ भने राष्ट्रिय बीमा कम्पनीको २.७१ प्रतिशत र नेसनल इन्स्योरेन्सको १.०४ प्रतिशतले बढेको छ।