काठमाडौं । अब अर्बपतिको चर्चा पुरानो भइसकेको छ। अहिले विश्वमा खरबपति (ट्रिलियनियर)को कुरा भइरहेको छ।
हाल विश्वमा तीनवटा कम्पनीको बजारपुँजी १ खर्ब डलरभन्दा बढी छ र आगामी ५ वर्षमा विश्वले पहिलो खर्ब पाउने विश्वास गरिएको छ। यो सूचीमा आगामी दशकमा ५ धनीव्यक्ति समावेश हुने अनुमान गरिएको छ।
अक्सफामले आइतबार सार्वजनिक गरेको वार्षिक असमानता प्रतिवेदनमा यो दाबी गरिएको हो। धनीहरुको सम्पत्ति बढाउने वर्तमान प्रवृत्ति जारी रह्यो भने आगामी १० वर्षमा कम्तीमा ५ धनीको सम्पत्ति १ खर्ब डलरभन्दा माथि पुग्ने प्रतिवेदनमा उल्लेख छ।
टेस्ला र स्पेसएक्सका मालिक तथा विश्वकै धनीव्यक्ति एलन मस्कले अब ५ वर्षभन्दा कम समयमै यो कोशेढुंगा पुग्न सक्ने प्रतिवेदनमा उल्लेख छ। आगामी १० वर्षमा अमेजनका संस्थापक जेफ बेजोस, ओरेकलका संस्थापक ल्यारी एलिसन, मेटाका सीईओ मार्क जुकरबर्ग र फ्रान्सका सबैभन्दा धनीव्यक्ति बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति पनि १ खर्ब डलर पुग्ने अनुमान गरिएको छ। अक्सफामको रिपोर्ट फोर्ब्सबाट लिइएको तथ्यांकमा आधारित छ।
स्विट्जरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चको बैठक सुरु भएको र अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ लिने क्रममा रहेको बेला यो प्रतिवेदन सार्वजनिक गरिएको हो। प्रतिवेदनमा सन् २०२४ विश्वका धनीहरुका लागि निकै राम्रो रहेको उल्लेख छ। अमेरिकी शेयर बजारमा आएको उछालका कारण उनीहरुको नेटवर्थ तीव्र गतिमा बढेको छ। यही कारणले गर्दा अक्सफामले गत वर्षदेखि आफ्नो सूची परिमार्जन गर्नुपर्यो।
हाल ४४९ अर्ब डलरको कुल सम्पत्तिका साथ मस्क संसारकै सबैभन्दा धनीव्यक्ति हुन्। गत वर्ष उनको कुल सम्पत्ति २०३ अर्ब डलरले बढ्यो। यो वर्ष उनको कुल सम्पत्ति १६.१ अर्बले बढेको छ।
विश्वका धनीव्यक्तिको सूचीमा बेजोस २४५ अर्ब डलरको सम्पत्तिका साथ दोस्रो स्थानमा छन्। जुकरबर्ग २१७ अर्ब डलरको नेटवर्थका साथ तेस्रो स्थानमा, १८८ अर्ब डलरका साथ चौथो स्थानमा एलिसन र १८८ अर्ब डलरका साथ पाँचौँ स्थानमा बर्नार्ड अर्नाल्ट छन्। –एजेन्सी