काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका छन्।
अर्थ मन्त्रालयद्वारा गठित प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस समितिले गत पुस २६ गते सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो। प्राधिकरणको अध्यक्षमा अहिलेसम्म पूर्वसचिवदेखि कृषि विकास बैंकका अध्यक्षसमेत आकांक्षी देखिएका छन्।
प्राधिकरणको अध्यक्षका लागि रामशरण पुडासैनी, सुरेन्द्र पौडेल, दामोदर बसौला, चिरञ्जीवी चापागाईं, कपिलदेव ओली र महेश्वर न्यौपाने आकांक्षी देखिएका छन्। पुडासैनी कृषि विकास बैंकको अध्यक्ष भूमिकामा छन् भने पौडेल नेपाल आयल निगमका पूर्वमहाप्रबन्धक तथा चार्टर्ड एकाउन्टेन्ट हुन्।
यसैगरी अध्यक्ष बन्ने दौडमा स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक बसौला र साविक बीमा समितिका पूर्वअध्यक्ष चापागाईं पनि छन्। अर्का आकांक्षी ओली बीमा प्राधिकरणकै पूर्वनिर्देशक हुन् भने न्यौपाने नेपाल सरकारका पूर्वसचिव हुन्।
योग्य तथा इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित माघ ११ गतेभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिन सक्नेछन्। उम्मेदवारले कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव भएको हुनुपर्नेछ। फौजदारी कसुरमा सजाय नपाएको र उच्च नैतिक चरित्र भएकोहरुले आवेदन दिन सक्नेछन्।
गत मंसिर २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कीर्ते र भ्रष्टाचारमा सूर्यप्रसाद सिलवालविरुद्ध विदेश अदालतमा मुद्दा दायर गरेसँगै प्राधिकरण अध्यक्षविहीन बनेको थियो। त्यसपछि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले प्राधिकरणमा अध्यक्षको भूमिका निर्वाह गर्दै आएका छन्।