IME Life New

गैरबैंकिङ सम्पतिको थुप्रोले बैंकहरु तनावमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थतन्त्रको शिथिलता कम हुन नसक्दा बैंकिङ क्षेत्रमा समस्या झनै बढ्दो क्रममा देखिएको छ। निजी क्षेत्रको मनोबल बढ्न नसक्दा उनीहरुले उठाएको कर्जा असुली गर्न सकिरहेका छैनन्।

ब्याजदर निकै न्यून हुँदा पनि असुलीमा सुधार नहुँदा बैंकहरुको वासलात बिग्रन थालेको छ। पछिल्लो समय बैंकहरुको निक्षेप बढ्दै गएको छ भने कर्जाको माग न्यून छ। विगतमा प्रवाह भएको कर्जाबाट नियमित साँवाब्याज उठ्न नसक्दा निष्क्रिय कर्जा बढ्दै गएको हो। बैंकहरुको निष्क्रिय कर्जा उच्च रुपमा बढ्दै जाँदा त्यसको असर गैरबैंकिङ सम्पत्तिमा परेको छ।

Esewa
Crest

राष्ट्र बैंकका अनुसार गत असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति ३७ अर्ब ७२ करोड ३० लाख रुपैयाँ पुगेको छ। यस अवधिमा औसत निष्क्रिय कर्जा ४.४२ प्रतिशत छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ०.७६ प्रतिशत विन्दुले बढी हो।

यस्तै गैरबैंकिङ सम्पत्ति पनि गत वर्षभन्दा १६ अर्ब ३३ करोड ९० लाख रुपैयाँले बढी हो। गत वर्ष असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा ३.६६ प्रतिशत थियो भने गैरबैंकिङ सम्पत्ति २१ अर्ब ३८ करोड ४० लाख रुपैयाँ थियो।

बैंक तथा वित्तीय संस्थाहरुले नउठेको कर्जाको धितो लिलामी बिक्री नभएमा आफैँले सकार्छन्। यसरी सकारेको सम्पत्ति नै गैरबैंकिङ सम्पत्ति हो। सकारेपछि पनि यस्तो सम्पत्ति सकेसम्म चाँडै बिक्री गर्नुपर्ने नियम छ।

गैरबैंकिङ सम्पत्ति सकार गरेकै समयबाट बैंकहरुले यसको जोखिमबाट बच्न सतप्रतिशतबराबर रकम प्रावधानमा राख्नुपर्ने हुन्छ। यही कारण बैंकहरुको प्रावधान रकमसमेत वृद्धि भएको छ।

गत असोजसम्म वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ३१ अर्ब ७३ करोड ४० लाख रुपैयाँ छ भने निष्क्रिय कर्जा ४.२८ प्रतिशत छ। गत वर्ष असोज मसान्तको तुलनामा निष्क्रिय कर्जा ०.६७ प्रतिशत र गैरबैंकिङ सम्पत्ति १४ अर्ब १ करोड रुपैयाँ बढी हो। गत वर्ष असोजसम्म वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा ३.६१ प्रतिशत र गैरबैंकिङ सम्पत्ति १७ अर्ब ७२ करोड ४० लाख रुपैयाँ थियो।

गत असोजसम्म विकास बैंकहरुको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ७० करोड ३० लाख रुपैयाँ र निष्क्रिय कर्जा ४.३७ प्रतिशत छ। गत वर्षको सोही अवधिकोे तुलनामा निष्क्रिय कर्जा १.१८ प्रतिशत र गैरबैंकिङ सम्पत्ति १ अर्ब ३० करोड ९० लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा निष्क्रिय कर्जा ३.१९ प्रतिशत र गैरबैंकिङ सम्पत्ति २ अर्ब ३९ करोड ४० लाख रुपैयाँ थियो।

फाइनान्स कम्पनीहरुको गैरबैंकिङ सम्पत्ति पनि बढेको छ । गत असोजसम्म निष्क्रिय कर्जा १०.८४ प्रतिशत र गैरबैंकिङ सम्पत्ति २ अर्ब २८ करोड ६० लाख रुपैयाँ छ। १ वर्षअघिको तुलनामा गैरबैंकिङ सम्पत्ति एक अर्ब १ करोड ९० लाख रुपैयाँले बढी हो भने निष्क्रिय कर्जा २.४७ प्रतिशतले बढी हो। गत वर्ष असोज मसान्तमा निष्क्रिय कर्जा ८.३७ प्रतिशत र गैरबैंकिङ सम्पत्ति १ अर्ब २६ करोड ७० लाख रुपैयाँ थियो।
बढेको गैरबैंकिङ सम्पत्तिले बैंकरहरु तनावमा छन्। धितो लिलामीका सूचनाहरु निरन्तर सार्वजनिक भए पनि जग्गाको कारोबारसमेत बढ्न नसकेको कारण यस्ता धितोसमेत बिक्री हुन सकिरहेको छैन। यही कारण बैंकहरुमा यस्तो सम्पत्ति उल्लेख दरमा बढिरहेको हो।

विगतमा बैंकहरुको खराब कर्जा (एनपीएल) बढेका कारण गैरबैकिङ सम्पत्तिमा वृद्धि हुन पुगेको हो। अर्थतन्त्रमा देखिएको समस्या र उच्च ब्याजदरका कारण ऋणीहरुले समयमा कर्जा तिर्न सकेनन्। ऋणीहरुले समयमा कर्जाको साँवा–ब्याज तिर्न नसकेपछि धितोका रुपमा राखिएको घरजग्गा, सुनलगायत बैंकहरुले लिलामीमा राख्छन्। उक्त धितो लिलामीमा बिक्री नहुँदा बैंकहरु आफैँ सकार्न बाध्य भएपछि गैर बैंकिङ सम्पत्तिको पोर्टफोलियो बढ्न पुग्छ।

ऋणीले समयमा कर्जाको सावा–ब्याज भुक्तानी गर्न नसक्दा बढेको खराब कर्जाले गैरबैंकिङ सम्पत्ति र कर्जा अपलेखन बढेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS