काठमाडौं । लामखुट्टेको टोकाइबाट हुने डेंगीको संक्रमण पछिल्ला वर्षहरूमा पुनः उल्लेख्यरूपमा देखा पर्न थालेको छ । सरकारले रोग नियन्त्रणका लागि पर्याप्त जनचेतना र उपचारको उपयुक्त व्यवस्था मिलाउन नसक्दा यो वर्ष मात्रै १० महिना नबित्दै ८ जना बिरामीको ज्यान गइ सकेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरी महिनायता १७ हजार ६०२ जना भन्दा बढी डेंगीबाट संक्रमित भएका छन् । संक्रमित ८ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा पछिल्लो तीनवर्षयता लगातार डेंगी रोग देखिएको छ। सन् २०२२ मा ५४ हजार ७ सय ७४ जनामा डेंगी संक्रमण देखिएको थियो । २०२३ मा ५२ हजार ७ सय ९० जनामा संक्रमण पुष्टि भएको थियो । सन् २०२२ र २०२३ मा डेंगी संक्रमणका कारण १ सय ८ जनाको मृत्यु भएको थियो ।
जलवायू परिवर्तनका कारण पछिल्लो समयमा पहाडी र हिमाली भेगमा समेत लामखुट्टेको प्रकोप बढ्न थालेको छ। डेंगी रोगको संक्रणम फैलाउने लामखुट्टेको नियन्त्रणका लागि स्थानीय तहले लार्भा नष्ट पार्ने अभियान सञ्चालन गरेपनि पर्याप्त र प्रभावकारी हुन सकेकाे छैन ।