काठमाडौं । अब शेयर बजार दसैँअघि ४ दिनमात्रै खुल्नेछ। गत मंगलबार ११४ अंकले घटेको बजार बुधबार २६ अंकले घटेको छ। नेप्से परिसूचक २५९७.४७ विन्दुमा बन्द भएको छ।
अब बजार आउँदो आइतबारदेखि बुधबारसम्म ४ दिन खुल्नेछ। बजार जानकारहरु यो ४ दिन बजार साइडवेज वा थोरै माथि उक्लिन सक्ने बताउँछन्।
लामो समयदेखि शेयर बजारमा सक्रिय प्रकाश न्यौपाने दसैँअघि ४ दिन खुल्ने बजार साइडवेजमा जान सक्ने बताउँछन्। ‘खासै ठूलो उतारचढाव होला जस्तो लाग्दैन’, उनले भने, ‘विगतको इतिहास पनि त्यस्तै छ।’
असोज मसान्तको ब्याज, दसैँको जोहो र मार्जिन कल लगानीकर्ताले मेन्टेन गरिसकेको न्यौपानेको बुझाइ छ। ‘आइतबारका दिन निर्णायक होला, यो दिन बजारमा करेक्सन आएर अरु दिन सामान्य अंकको वृद्धि हुन सक्छ’, उनले भने, ‘अब दसैँअघिको बजारमा १०० अंकको उतारचढाव हुन सक्छ।’
अर्का बजार जानकार आरपी तिमिल्सिना बजार नेप्से दसैँअघिको ४ दिनको कारोबार १५० देखि २०० अंकसम्म उक्लिन सक्ने बताउँछन्। ‘दसैँको जोहो, ब्याज तिर्ने र ब्रोकरको सेटलमेन्ट लगानीकर्ता गरिसकेका छन्’, उनले भने, ‘अब सेलिङ प्रेसर नआउला।’
३००० को विन्दुबाट खसेको बजारको घटाइ पनि सकिएको तिमिल्सिनाको दाबी छ। ‘अब करेक्सन सकियो, शेयर बेच्नेभन्दा पनि बरु पर्ख र हेरको अवस्थामा लगानीकर्ता छन्’, उनले भने, ‘केही लगानीकर्ता भने यो घटेको बजारबाट राम्रा कम्पनीको शेयर किनेर केही समय होल्ड गर्ने पक्षमा छन्। त्यसैले दसैँअघि खुल्ने बजार बढ्छ जस्तो जाग्छ।’

















