काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी प्रिती देवले पाएकी छिन् । प्राधिकरणको उपनिर्देशक पदमा कार्यरत देवलाई प्राधिकरण प्रशासनले मधेश प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो ।
यसअघि कार्यालय प्रमुख रहेकी कुसुम शर्माको उमेर हदले असार १ गतेदेखि अनिवार्य अवकाश भएपछि कार्यालय प्रमुखको कुर्सी खाली रहेको थियो । पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तहको उपाधी प्राप्त देव ६ वर्षदेखि प्राधिकरणमा कार्यरत छिन् ।
प्राधिकरणको प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्ने अवसर पाएकी उनी संभवत सबैभन्दा कान्छो उमेरकी कर्मचारी हुन् ।
वीरगञ्जमा प्रादेशिक मुख्यालय रहेको प्राधिकरणको मधेश प्रदेश कार्यालयले प्रदेश अन्तर्गतको पर्सा,बारा, रौतहट, सर्लाही,महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा बीमा क्षेत्रको नियमन र बीमा प्रवर्द्धनको कार्य गर्दै आएको छ।