काठमाडौं। अष्ट्रेलियामा व्यायामशाला सञ्चालन गर्ने एक महिलाले झण्डै ५ लाख अमेरिकी डलर(६ करोड ६६ लाख ६६ हजार रूपैयाँ) बीमा दाबीका लागि आफ्नै मृत्युको घोषणा गरेको तथ्य प्रकाशमा आएको छ।
अमेरिकी अखबार द न्यूयोर्क पोष्टका अनुसार ४२ वर्षिया महिला केरे साल्किलडले आफ्नो मृत्युदाबीवापतको रकमको लागि आफ्नो श्रीमानको नामबाट दाबी गरेपछि पक्राउ परेकी हुन् । ती महिलाले कार दुर्घटनामा परेर आफ्नो निधन भएको जानकारी श्रीमानको तर्फबाट बीमा कम्पनीलाइ गराएकी थिइन् ।
उनले बीमा दाबीको निवेदनसँगै आफ्नो मृत्यु दर्ता प्रमाण पत्र, कोरोनर कोर्ट अफ वेष्टर्न अष्ट्रेलियाले जारी गरेको प्रतिनिधि पत्र र मृत्युको अनुसन्धान प्रतिवेदन सहितको नक्कली कागज पेश गरेकी थिइन् ।
ती महिलाले पेश गरेको कागजपत्रको आधारमा बीमा कम्पनीले उनको श्रीमानको नाममा खोलिएको खातामा दाबीवापतको ४ लाख ७७ हजार ५२० अमेरिकी डलर जम्मा गरिदिएको थियो । खातामा पैसा आए लगत्तै ती महिलाले खाताको पैसाबाट धमाधम विभिन्न भुक्तानीहरू गर्न थालेपछि बैंकले शंस्कापद कारोबारको आशंका गरेर खाताको सबै रकम रोक्का गरिदियो ।
त्यसपछि खाता फुकुवा गराउनका लागि उनले पल्माइरा प्रहरी चौकीमा विभिन्न कागज प्रमाणहरू लिएर पुगेकी थिइन् । तर बैंकमा पेश गर्नु अघि कागज प्रमाणमा छेडछाड गरिएका कारण ती कागजप्रमाणको प्रमाणिकरण भएन ।
हाल प्रहरी हिरासतमा रहेकी ती महिला विरूद्ध धोकाधडी र सरकारी कागजातको किर्तेको अभियोगमा दुईवटा मुद्दा चलाइएको छ । सात वर्षसम्म जेल सजाय हुन सक्ने ती महिलाको सम्बन्धमा जुलाई महिनामा अष्ट्रेलियाको पर्थ जिल्ला अदालतले सजाय सुनाउने भएको छ ।