काठमाडौं । पछिल्लो दशक वा सोभन्दा बढी समयदेखि दुबईले आफ्ना मेगा प्रोजेक्टहरुका साथ विश्वलाई चकित पार्दै आएको छ। संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा होस्, संसारको सबैभन्दा स्मार्ट होटल बुर्ज अल अरब होस् वा दुबईको समुद्र तट नजिकै विकसित कृत्रिम पाम आइल्यान्ड होस्। तर, त्यहाँ अर्बौं डलरको योजना छ, जुन अधिकांश खाली र सुनसान छ।
यो परियोजना २६० साना टापुहरुको नेटवर्क हो। जुन संसारका सबै महाद्वीपहरुको आकारमा विकसित गरिएको छ। यस टापु समूहमा काम सुरु भएको २० वर्षभन्दा बढी भइसकेको छ। प्रश्न यो छ कि ‘दि वर्ल्ड आइल्यान्ड्स’सँग के भयो ? यो टापु समूह किन विकास गर्न लागिएको थियो ?
द वर्ल्ड नामको यो परियोजनालाई २६० वटा कृत्रिम टापुका रुपमा परिकल्पना गरिएको थियो। पृथ्वीका सबै महाद्वीप अर्थात अफ्रिका, अन्टार्कटिका, एसिया, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका र ओशिनिया बसोबास गर्ने गरी बनाइनुपर्ने थियो।
दुबईको तटीय रेखाबाट करिब ४ किलोमिटर टाढा विश्व परियोजना निर्माण भइरहेको थियो। प्रत्येक टापुको नाम देश, क्षेत्र वा महाद्वीपमा रहेको सहरको नाममा राखिएको छ। यस परियोजनाअन्तर्गत निजी कम्पनीहरुले यी टापुहरुमा होटल, रेस्टुरेन्ट, रिसोर्ट वा बंगलाजस्ता विभिन्न सुविधाको विकास गर्नुपर्ने थियो। जसका कारण यहाँ आउने व्यक्तिले विश्वका विभिन्न संस्कृतिको झलक पाउन सक्छन्।
यूएई सरकारको सहयोगमा रहेको नखिल प्रोपर्टीजले पाम जुमेराह नामको कृत्रिम टापु बनाएको थियो। त्यसमा ४ हजार लक्जरी सम्पत्ति र दर्जनौंँहोटल निर्माण गरिएका थिए। संसारलाई विकासको अझ विलासी उदाहरणका रुपमा सिर्जना गर्नु थियो।
यी टापुहरु निर्माण भएपछि दुबईको तटवर्ती क्षेत्र २३० किलोमिटरले बढाउने थियो। यसबाट दुबई आउने पर्यटकको संख्या पनि बढ्ने अपेक्षा गरिएको थियो।
विश्व दुबई परियोजना २००३ मा दुबईका शासक शेख मोहम्मद अल मकतूम द्वारा घोषणा गरिएको थियो। नखिल प्रोपर्टीजले सन् २००३ मा द वर्ल्डमा काम सुरु गरेको थियो। यी टापुहरु पर्सियन खाडीको समुद्री तटबाट ३२१ मिलियन घनफिट बालुवा निकालेर सिर्जना गरिएको हो। समुद्री तटबाट बालुवा उत्खननले फारसको खाडीमा रहेका कोरल चट्टानहरुमा ठूलो क्षति पुगेको वातावरणविद्हरु बताउँछन्।
नखिल प्रोपर्टिजले समुद्री जीवविज्ञानीहरुलाई तिनीहरुको पुनर्स्थापना गर्न र कोरलहरुलाई पुनस्र्थापित गर्न काममा राख्यो। नखिल प्रोपर्टीजले यी कृत्रिम टापुहरु र वरपरको समुद्री क्षेत्रको निर्माण सन् २००८ मा सम्पन्न गरेको थियो। तीमध्ये ७० प्रतिशत शेयर निजी कम्पनीलाई बिक्री गर्न सफल भएको कम्पनीले जनाएको छ। तर, चरम आर्थिक संकटका कारण यी टापुहरुमा सुविधा निर्माणको काम रोकिएको थियो।
अमेरिकाबाट सुरु भएको यो आर्थिक संकटले सन् २००७ मा दुबईलाई पनि घेर्यो र यसको प्रभाव सन् २०१० सम्म रह्यो। यस अवधिमा दुबईमा सम्पत्तिको मूल्यमा उल्लेखनीय गिरावट आयो। जसका कारण धेरै निजी कम्पनीहरुले यो योजनाबाट या त फिर्ता भए वा बन्द गरे।
नखिल प्रोपर्टिज आफैँले अर्बौं डलर ऋण लिएको थियो। सन् २००९ मा दुबईको छिमेकी इमिरेट्स अबुधाबीले दुबईमा १० अर्ब डलर लगानी गरेपछि नखिलले राहत पाएको थियो। यसको मतलब नखिललाई उसको स्वामित्वको कम्पनी दुबई वर्ल्डमार्फत यो समस्याबाट मुक्त गर्न सकिन्छ। यस परियोजनाप्रति विश्वको ध्यानाकर्षण गराउन नखिल प्रोपर्टिजले ल्यापल्यान्ड टापुमा प्रदर्शनीका लागि घर निर्माण गरेको छ।
अर्को टापु फर्मुला वन विश्व च्याम्पियन माइकल शुमाकरलाई उनको उपलब्धिहरुको सम्मानका रुपमा दान गरिएको थियो। यस टापुमा एक भव्य भवन पनि बनाइएको छ।
सन् २०१२ मा रोयल आइल्यान्डबीच क्लब लेबनानको टापुमा खोलियो। यो रेस्टुरेन्ट र बार सुविधाहरुसंग सुसज्जित रिसोर्ट हो। अनतारा वर्ल्ड आइल्यान्डले पनि सन् २०२२ मा काम गर्न थाल्यो। यस टापुमा होटल कोठा, सुइट, भिला र स्पा सहितको रिसोर्ट पनि निर्माण गरिएको छ। तर, विश्वका बाँकी सबै टापुहरु उजाड बालुवाका पहाडजस्तै छन्।
बेलायतको न्युक्यासल विश्वविद्यालयका भूगोलका प्रोफेसर र ‘ए जर्नी इनटू द एरा अफ आर्टिफिसियल आइल्यान्ड’का लेखक एलिस्टर बोनेट भन्छन्, ‘द वर्ल्डको ठूलो समस्या यो हो कि द पामको विपरीत यो दुबईसँग प्रत्यक्ष रुपमा जोडिएको छैन। कारबाट यी टापुहरुमा पुग्न सक्ने कुनै पुल छैन। यी टापुहरु जोड्न सडक निर्माण गरिएको छैन।’
यसको मतलब निर्माण सामग्री र मजदुरको ढुवानी यहाँका सम्पत्ति निर्माण गर्नेहरुका लागि ठूलो चुनौती बनेको छ। त्यसपछि यी टापुहरुमा बिजुली र पानी उपलब्ध गराउनु पनि चुनौती हो। यी टापुहरुलाई दुबईसँग जोड्ने एउटामात्र बाटो छ। पाम जुमेराहबाट चल्ने फेरी सेवाले मात्र मानिसहरुलाई यहाँ ल्याउँछ र फिर्ता लैजान्छ।
पछिल्लो दशकमा दुबईको क्लेनडिएन्स्ट ग्रुप नामको कम्पनीले द हार्ट अफ युरोप नामक परियोजनामा काम गरिरहेको छ। जसको लागत ५ अर्ब डलर लाग्ने अनुमान गरिएको छ। यो कम्पनी अस्ट्रियाका उद्यमी जोसेफ क्लिन्डिएन्स्टद्वारा सञ्चालित छ। यस परियोजनाअन्तर्गत युरोपेली शैलीका धेरै लक्जरी होटल, निजी कुटेज र फ्लोटिङ भिलाहरु निर्माण गरिने छ। ती सबै जर्मनी, मोनाको, स्विडेन र भेनिस नामक विश्वका टापुहरुमा बनाइनेछन् (यद्यपि यी कुनै पनि देश वा सहरहरु वास्तवमा टापुहरु होइनन्)।
यस आयोजनाअन्तर्गत ‘रेनिङ स्ट्रिट’ पनि निर्माण गरिने छ। जहाँ पर्यटकले अत्यधिक गर्मीमा कृत्रिम वर्षामा भिज्ने अवसर पाउनेछन्।
नखिल प्रोपर्टीजले द वर्ल्डको संरचनामा प्रमुख काम गर्न ठेकेदारको खोजी गरिरहेको छ। यस परियोजनाअन्तर्गत सबै २६० वटा टापुलाई महादेशका रुपमा एकअर्कासँग जोडिनेछ। सुरुमा संसारका प्रत्येक टापुहरुमा पानी र बिजुलीको आफ्नै छुट्टै सुविधा हुनुपर्थ्यो। तर, यो धेरै महँगो र अव्यावहारिक विकल्प थियो। जब यी कृत्रिम टापुहरु महाद्वीपका रुपमा एकअर्कासँग जोडिनेछन् तब यी टापुहरुले एकअर्कासँग बिजुली र पानी जस्ता सुविधाहरु साझा गर्नेछन्। –बीबीसीबाट भावानुवादित