IME Life New

बैंकहरुमा पैसा थुप्रिने तर लगानी गर्न नसक्ने अवस्थाको अन्त्य अपरिहार्यः सीएनआई अध्यक्ष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकमा लगानीको वातावरण सिर्जना गरिदिन सरकारसँग आग्रह गरेका छन्। परिसंघको २१ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अधयक्ष अग्रवालले यस्तो आग्रह गरेका हुन्। ‘बैंक तथा वित्तीय संस्थाहरुमा अर्बौ रुपैयाँ लगानी योग्य रकम छ’, उनले भने, ‘बैंकहरुमा पैसा थुप्रिने, लगानी गर्न नसक्ने अवस्थाको अन्त्य अपरिहार्य छ।’

विदेशी विनिमय सञ्चितिको हिसाबले बाह्य क्षेत्र राम्रो स्थितिमा रहेको अग्रवालले बताए। ‘भुक्तानी सन्तुलन र चालु खातासमेत बचतमा छ। हालको विदेशी विनिमय सञ्चिति ८ वर्षयताकै उच्च हो’, उनले भने, ‘बाह्य क्षेत्र राम्रो भए पनि आन्तरिक अर्थतन्त्रमा अझै पनि अपेक्षित सुधार आउन नसक्नु बाह्य कारण मात्रै थिएन र होइन, आन्तरिक नै प्रमुख कारण हो भन्ने पुष्टि गर्दछ।’

Esewa
Crest

समग्र बजार मागमा आएको उच्च कमीका कारण उद्योगी–व्यवसायी निकै अप्ठ्यारो अवस्थामा रहेको अग्रवालको भनाइ थियो। ‘कतिपय उद्योग–व्यवसाय बन्द भइसकेका छन् भने कतिपय बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन्’, उनले भने, ‘यस्तो असरबाट सबैभन्दा बढी साना तथा मझौला उद्योगहरु प्रभावित भइरहेका छन्। साथै, ठूला उद्योगहरुमा समेत यसको असर परेको छ। हाल समग्रमा उत्पादनमूलक उद्योगहरुले आफ्नो क्षमताको ४० प्रतिशत हाराहारीमा मात्रै उत्पादन गरिरहेका छन्। त्यसैले अर्थतन्त्रलाई अगाडि बढाउन समग्र माग बढाउने नीति लिन आवश्यक छ।’

अध्यक्ष अग्रवालले  केन्द्रिय तथ्यांक विभागले हालै सार्वजनिक गरेको जीडीपी म्बन्धि प्रक्षेपणमा औद्योगिक वस्तु उत्पादन क्षेत्रमा गिरावट आउने, निर्माण क्षेत्रमा न्यून मात्र सुधार आउने प्रक्षेपण गरेको बताए। ‘नियामक निकायले लिएको नीतिका कारण अर्थतन्त्र विस्तार हुन नसक्ने र त्यसको असर आर्थिक बृद्धिमा पर्ने परिसंघले भन्दै आएको थियो। त्यसलाई विभागको प्रक्षेपण समेत पुष्टि गरेको छ’, उनले भने।

अर्थतन्त्रमा अस्वाभाविक संकुचन आउँदा, समग्र माग बढ्न नसक्दा उद्योग–व्यवसाय बन्द हुने क्रम बढ्दै गएकोप्रति अध्यक्ष अग्रवालले सरकारको ध्यानाकर्षण गराए। ‘यसको गम्भीर असर बैंक तथा वित्तीय संस्थाहरुको वासलातमा समेत देखिएको छ भने बैंकहरुको एनपीएल ३.७३ प्रतिशत पुगेको छ’, उनले भने, ‘गत वर्षको फागुनमा यस्तो एनपीएल २.६३ प्रतिशत थियो। यस्तै कालोसूचीमा पर्नेहरुको संख्या निकै बढेको छ। गत वर्षको फागुनमा ३९ हजार रहेकोमा यो फागुनसम्म बढेर ७७ हजार बढी पुगिसकेको छ। निकै चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्न कुनै पनि निकायले यो वा त्यो बहानामा यथास्थितिमा बस्न सक्ने अवस्था छैन, हुनुहुँदैन।’

अध्यक्ष अग्रवालले समग्र बजार मागमा सुधार आउन नसक्दा कम उत्पादन गरिरहेका उद्योगहरुको उत्पादन लागत बढिरहेको बताए। ‘नियमित विद्युतको आपूर्ति उद्योगहरुका लागि लाइफलाइन नै हो तर पछिल्ला केही महिनादेखि उद्योगहरुमा गरिएको अघोषित लोडसेडिङले थप मर्माहत बनाएको छ’, उनले भने, ‘एकातिर विद्युत खपत बढाउन नेपाल विद्युत प्राधिकरण लागिरहेको छ अर्कोतर्फ धेरै विद्युत खपत गरिरहेका उद्योगहरुमा नै १६ घण्टासम्म लोडसेडिङ गराइरहेको छ। यो कस्तो नीति हो हामीले बुझ्न सकेका छैनौँ।’

अध्यक्ष अग्रवालले विद्युत प्राधिकरणले अहिले विद्युत आयात गर्दा महँगो पर्ने भनिरहेको पनि बताए। ‘केही समय आयात गर्दा प्राधिकरणलाई केही घाटा भए पनि विद्युत उपलब्ध भए समग्र अर्थतन्त्रको विकासमा त्यसले सहयोग गर्छ’, उनले भने, ‘त्यसैले महँगो दरमा आयात गरेरै भए पनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन माग गर्दछौँ।’

परिसंघको वार्षिक साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS