काठमाडौं । विस २०७८ साल भदौ २ गते अलटाइम हाई पुगेको नेप्से परिसूचक सो दिन ३१९८ दशमलव ६० को विन्दुमा पुगेर बन्द भएको थियो । त्यसयता नेपालको शेयर बजार करीब ३७ प्रतिशत घटेको छ । यो अवधिमा नेपालको शेयर बजार परिसूचक नेप्से ११७३ दशमलव ३० अंक घट्दै २०२५ दशमलव ३० मा बन्द भएको छ ।
उता छिमेकी शेयर बजार भने बुलिस प्रवित्तिमा रहेको छ । भारतका दुई प्रमुख बजार बम्बई स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्जको प्रमुख सूचक सेन्सेक्स र निफ्टी भने यो अवधिमा राम्रै बढेको देखिन्छ । नेपालको शेयर बजारले अल टाइम हाइ बनाएको दिन र आजको दिनलाई दाँजेर हेर्दा सेन्सेक्स ३३ दशमलव ४६ प्रतिशतले वृद्धि भएको छ भने निफ्टी ३५ दशमलव ९१ प्रतिशतले वृद्धि भएको छ ।
पछिल्लो कारोबार दिनको तथ्यांकलाई आधार मान्दा सेन्सेक्स ७४ हजार २४४ दशमलव ९० को विन्दुमा बन्द भएको छ भने निफ्टी २२ हजार ५१९ दशमलव ४० को विन्दुमा बन्द भएको छ । नेपालको शेयर बजार अल टाइम हाई पुगेको दिन सेन्सेक्स ५५ हजार ६२९ दशमलव ४९ विन्दुमा थियो भने निफ्टी १६ हजार ५६८ दशमलव ८५ विन्दुमा बन्द भएको थियो ।