बैंक, वित्तीय संस्था र बीमा क्षेत्र अन्योन्याश्रित सम्बन्ध रहेको क्षेत्र हो । बैंकिङ प्रायोजनको आफ्नो तथा ऋण लगानी गरिएका सम्पत्ति तथा दायित्वहरुमा जोखिम न्युनिकरण गर्नका लागि पनि “बीमा” नभई नहुने औजारको रुपमा रहेको छ । व्यक्तिगत तथा संस्थागत निक्षेपको, ग्राहकहरुलाई प्रदान गरेको कर्जाहरुको, बैंक आफैँले लगानी गरेका सम्पत्तिहरुको, आफ्नै स्वामित्व तथा भोगाधिकारमा रहेका सम्पत्तिहरुको तथा केहि विशेष दायित्वहरुको पनि बैंकिङ क्षेत्रले बीमा गराएको हुन्छ ।
जीवन बीमा कम्पनीहरुका लागि अभिकर्ता मार्फत प्राप्त हुने बीमा व्यवसायका अतिरिक्त, अर्काे प्रमुख श्रोतको रुपमा बैंकिङ क्षेत्रलाई लिन सकिन्छ । निर्जीवन बीमाको हकमा बैंक तथा वित्तीय संस्था मार्फत हुने बीमा व्यवसाय ज्यादातर हिस्सा रहन्छ । यसरी प्राप्त हुने व्यवसायलाई वर्गिकरण गरी हेर्दा, एक आफ्नो स्वामित्व तथा भोगाधिकारमा भएको सम्पत्तिहरुको बीमा, दुई ग्राहकहरुलाई प्रदान गरेको ऋणको सुरक्षणको लागि गरेका बीमा र तीन निक्षेपकर्ताहरुको रकमको सुरक्षाको लागि भएको बीमा भएको हुन्छ । यी तीन मध्ये दोस्रो, बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुलाई प्रदान गर्ने ऋणको सुरक्षणको लागि गरिने बीमामा यस आलेख केन्द्रित रहन्छ ।
बैंकको ऋणको लागि भएको बीमामा एउटा कुरा साझा रहन्छ । त्यो हो बीमालेखमा सम्बन्धीत बैंकको नाम र ऋणिको नाम रहनु । सरसर्ती हेर्दा बीमालेखमा श्री फलाना बैंक ऋणि श्री फलाना जस्तो मात्रै देखिन्छ । तर त्यसमा निहित विधिशास्त्रिय मान्यता र प्रथागत अभ्यासको ठुलो भूमिका रहेको छ । उक्त विधिशास्त्रिय मान्यता बुझ्नका लागि पहिला हामीले स्वामित्व र भोगाधिकार बुझ्नु पर्ने हुन्छ ।
स्वामित्व भन्नाले कुनै पनि सम्पत्तिको कानून बमोजिमको उपभोग, कारोबार, हकहस्तान्तरण, उत्पत्ति तथा नष्ट गर्न पाउने सम्पूर्ण र अन्तिम अधिकार भन्ने बुझ्नुपर्दछ । अर्काेतर्फ उक्त सम्पत्ति भोग गर्ने मनसायले कानून बमोजिम आफुसंग राखेमा भोगाधिकार भन्ने बुझ्नुपर्दछ । आफ्नो भोगमा रहेको सम्पत्ति प्रचलित कानून बमोजिम वा त्यस्तो सम्पत्ति सम्बन्धमा कुनै करार भए त्यस्तो करारको अधिनमा रही निर्वाध रुपमा भोग गर्न र भोग रहेको सम्पत्तिबाट प्राप्त हुने जुनसुकै लाभ प्राप्त गर्न सक्ने अधिकार रहन्छ । (हेर्नुहोस् मुलुकी देवानी संहिता २०७४को दफा २६६ देखि २७३ सम्म)
अब लागौँ बैंकको र ऋणि बीचको सम्बन्धमा : बैंक तथा वित्तीय संस्थाले करार बमोजिम ऋण प्रदान गर्दा घरजग्गा भए मालपोतबाट, सवारी साधन भए यातायात व्यवस्था कार्यालयबाट उक्त सम्पत्तिको नामसारी गरी रजिष्ट्रेसन पास गरी वा “लिजिङ”को रुपमा उक्त सम्पत्तिको शिर्षक (Title) सम्बन्धीत बैंक वित्तीय संस्थाको नाममा जान्छ । र यहाँ बैंक र ऋणि बीच क्रमशः सम्पत्तिको स्वामित्व र भोगाधिकार रहन्छ । कुनै कुनै अवस्थामा भने रजिष्ट्रेसन पास नगराई करारको आधारमा पनि ऋण प्रदान भई सम्पत्तिको शिर्षकमाथी बैंक वित्तीय संस्थाको स्वमित्व रहन पुग्छ, जस्तै व्यक्तिगत÷सामुहिक जमानी कर्जा, हाइपोथिकेसन कर्जा, सावधिक कर्जा आदि । (बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३)
बीमालेखमा अब यसरी बैंक वित्तीय संस्थाको नाम ऋणिको नाम सँगै राख्नुको अर्थ बुझौँ ।
बीमालेख खधारकको शिर्षक (Title)मा दुवैको नाम भए बीमालेखले उक्त बीमा गरिएको सम्पत्तिमा धितोबन्धक गरी लिने बैंकको अधिकार ऋणिलाई प्रदान गएिको ऋण रकम सम्मको अग्राधिकार रहन्छ भनि बुझ्नुपर्दछ । अर्काे तर्फ धितोबन्धक नलिइकन ऋण दिएको भएपनि उक्त ऋण रकमले खाम्ने सम्मको अग्राधिकार बैंक वित्तीय संस्थासँग सुरक्षित रहन्छ । बीमालेखमा बीमालेख धारकको रुपमा कहिलेकाहीँ कुनै संस्थाको नाम पनि राख्न सकिनेछ । त्यस्तो अवस्था हुनका लागि सो संस्थाले आफ्ना कर्मचारीलाई कानून बमोजिम कर्जा प्रदान गर्न सक्ने रहेछ भने सो कर्जाको करारको लिखत बमोजिम पनि उक्त संस्था बैंक वा वित्तीय संस्थाको स्थान ग्रहण गर्न सक्नेछ ।
बैंक तथा वित्तीय संस्थाले पनि धितो, सुरक्षण वा हाइपोथिकेटेड सम्पत्तिमा वित्तीय जोखिमको सुरक्षा गर्नुपर्ने छ भने हरेक बीमालेखमा बैंकको नाम समावेश गरी शर्तमा Agreed Bank Clause (बैंक सम्बन्धी व्यवस्था) राखिएको हुने गर्दछ । कहिलेकाँही बीमालेख जारी गर्ने बेलमा बीमित बस्तुमाथी बीमा गर्ने व्यक्ति वा संस्थाको मात्रै स्वामित्व रहेको अवस्थामा बीमायोग्य हितको रुपमा बीमितकै नाममा बीमालेख जारी भएको हुन्छ । र पछि बीमालेख वहाल रहेको अवधिभित्रको कुनै पनि समयमा बैंकको नाम छनौट गरी राखिन्छ भने यो Agreed Bank Clause (बैंक सम्बन्धी व्यवस्था) को अनुमोदनको रुपमा स्वीकार गरिएको हुनेछ ।
बैंक तथा वित्तीय संस्थाले बीमा गराउन पाउनु, बीमितको खाताबाट रकम कट्टा गरी बीमालेख नविकरण गराउन पाउनु, प्रथम सुचना बैंकलाई दिनु, दावी वापत बीमा कम्पनीले दिने अन्तिम फस्र्याैट पूर्जामा बैंकको आधिकारिक हस्ताक्षर र छाप गरी मञ्जुरी दिनु पनि यसै बैंक सम्बन्धी व्यवस्थाको उपज हो ।
बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्दा वा कुनै सम्पत्ति धितोमा राख्दा कुनै कारणवश सो सुरक्षणको क्षति भयो भने ऋणिले ऋण तिर्न सक्ने अवस्था नरहने भएकोले पनि पहिलो अधिकार बैंकलाई दिइएको हो । बैंक सम्बन्धी व्यवस्था अन्तर्गत बीमितले बीमालेखको खारेजी, फिर्ता, दावी, लाभ वापत कुनै पनि रकम प्राप्त गर्ने भएमा बीमालेखमा उल्लेखित बैंक तथा वित्तीय संस्थाको पहिलो अधिकार रहन्छ । बीमालेखबाट प्राप्त हुने रकमले बैंकले आफ्नो ऋण रकमको साँवा ब्याज र हर्जानाहरु असुल गरी बाँकी रहेको रकम बीमित वा ऋणिलाई नै प्रदान गरिन्छ । सहवित्तीयकरण (कन्सोर्टियम बैंकहरु) को हकमा पनि आआफ्नो ऋण लगानी रकम बराबरको अग्राधिकार हक रहन्छ तथापि मूल बैंक (लिडर बैंक) ले सामान्यतया सुचना तथा निर्णयको नेतृत्व गरेको हुन्छ । लिडर बैंक र बीमा कम्पनी बीच हुने सञ्चारलाई अन्य बैंक र ऋणि बीमितका लागि पनि सञ्चार भएको भनी आधिकारिक र पर्याप्त मानिन्छ ।
बीमा कम्पनी र बीमित बीच सुचना तथा जानकारी आदानप्रदानको हकमा पनि बैंकलाई जानकारी गराए ऋणि बीमितलाई नै जानकारी गराए बराबर हुने वा पर्याप्त हुने प्रथागत अभ्यास रहिआएको छ । कुनै कारणवश बीमालेखका प्रावधानका सम्बन्धमा विवाद भएमा मध्यस्थता गर्न, निर्णय मान्न, मिलापत्र गर्न, समायोजन मान्न वा स्वीकार गर्न बैंकलाई पर्याप्त अधिकार हुन्छ र सो कार्य गर्न ऋणि बीमितले अख्तिायारी प्रदान गरेको मानिन्छ । र बाध्यकारी पनि भएको मानिन्छ ।
बीमा करार बमोजिम खुलाउनुपर्ने तथ्यहरु बैंकका कर्मचारीहरु वा आधिकारिक अभिकर्ताले भने सहि र तथ्यपरक जानकारी बीमा कम्पनीलाई दिनुपर्ने व्यवस्था छ । यति धेरै अग्राधिकारका वावजुद बीमालेखको शर्तहरुका सम्बन्धमा बैंकका कर्मचारी वा अभिकर्ताहरुबाट भएको गल्तीको हकमा भने बैंक जिम्मेवार हुने प्रथागत अभ्यास छ । तथापि बैंकलाई जानकारी नगराई वा बैंकको जानकारी वेगर ऋणि बीमितको बीमा गरिएको विषयवस्तुमा जोखिमको बृद्धिको कारणले कुनै क्षति भएमा बैंकको हित सुरक्षित गर्ने दायित्व पनि बीमा कम्पनीको रहने गर्दछ । जोखिमको बृद्धिले बीमाशुल्कमा थप गर्नुपरेको वा केहि शर्त अपवाद थप गर्नु परेमा बैंकले बीमा कम्पनीलाई तुरुन्त जानकारीमा ल्याई बीमालेखमा कायम भने गराउनुपर्दछ । यसका लागि आवश्यक थप बीमाशुल्क ऋणि बीमितको खाताबाट खर्च जनाई बीमालेखमा सम्पूष्टि गरिदिनु पर्दछ । नविकरण कसरी हुने, कसको के दायित्व र अधिकार हुने भन्ने सम्बन्धमा थप व्यवस्था बैंक र ऋणि बीच ऋण सम्बन्धी करारनामामा जनाइए बमोजिम हुनेछ ।
बीमालेखमा केहि थपघट, फिर्ता, संसोधन वा परिवर्तन गर्न परेमा बैंक तथा वित्तीय संस्थाको सहमति आवश्यक पर्दछ । बीमायोग्य सम्पत्तिमा बैंकको हित नभई बैंकको नाम राख्नु हुँदैन । अन्यथा कुनै परिवर्तन गर्नुपरेमा बैंकको स्वीकृत प्राप्त गर्न नसकी बीमालेखमा समस्या उत्पन्न हुन्छ । विशेषत एलसी खोल्दा कुनै बैंक विशेषको नाम राखिँदा पछि सो बैंकमा एलसी नखोलेमा पनि बीमालेख रद्द गर्न समस्या परेका उदाहरणहरु पाइन्छन् ।
तसर्थ बैंक तथा वित्तीय संस्थाको नाम बीमालेखमा प्रयुक्त गर्दा बीमायोग्य हित भए नभएको यकिन गरेर मात्र बीमालेखमा जनाउनुपर्दछ ।
(तिमल्सेना सगरमाथा लुम्बिनी इन्स्योरेन्सको जोखिमांकन विभागमा कार्यरत छन् ।)