IME Life New

भारतमा बीमित अनुकूल हुने गरी फ्लेक्जिबल जीवन बीमा, नेपालमा के छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमित: बीमाकाे टाइम धेरै लामाे भयाे । कम गरिदिनुहाेस्।

बीमकः अहँ मिल्दैन

बीमित: बीमाकाे किस्ता धेरै भयाे, कम गरिदिनुहाेस् ।

बीमक: अहँ मिल्दैन।

Esewa
Crest

बीमित: बीमामा मेराे नाम गल्ती छ, सच्याइ दिनुहाेस्।

बीमक: मिल्छ तर अफिसमा आऊनु पर्छ।

बीमित: बीमालेखकाे विवरणमा गल्ती छ, सच्याई दिनुहाेस् ।

बीमक: अहँ मिल्दैन ।

बीमित: बीचबीचमा फिर्ता पाउने रकम किस्तामा मिलान गरिदिनुहाेस् ।

बीमक: मिल्न त मिल्छ तर तपाई फाइल लिएर अफिसमै आएर निवेदन दिनुपर्छ।

बीमित: म बालिग भइसके बीमालेखमा मेराे जाेखिम बहन उल्लेख गरिदिनुहाेस् ।

बीमक: तपाई अफिसमै आएर निवेदन दिनुपर्छ।

बीमित: अनलाइन पेमेण्ट गर्न खाेजेकाे, ल्याप्स देखाउँछ। अनलाइन तिर्ने मिलाइ दिनुहाेस्।

बीमक: त्यसै त मिल्दैन, तपाई अफिसमै आएर फारम भर्नुपर्छ। मेडिकल टेष्ट पनि चाहिन्छ।

 

जीवन बीमा कम्पनीका बीमित र कर्मचारीबीच बीमालेख सेवा सम्बन्धमा नियमितजसाे भइरहने स‌ंवादका केही अंश हुन् यी । तपाईले पनि जीवन बीमा गराउनु भएकाे छ भने स‌ंवादका यी हरफहरूमध्ये केही तपाईकाे कर्णमा अवश्य पनि ठाेक्किएकाे हाेला। स‌ंवादका यी हरफहरूले जीवन बीमा सेवा कतिकाे जड, अनुचित र अव्यवहारिक छ भन्ने प्रष्ट पार्छ।

माथि उल्लेख गरिएका बीमितकाे अप्ठेराेहरू जीवन बीमा कम्पनीले सम्बाेधन गर्न नमिल्ने हाेइन । कानूनले पनि नगर भनेकाे छैन । बीमितकाे अनुराेधमा बीमा कम्पनीले निश्चित सेवाशुल्क लिएर वा निःशुल्करूपमा भएपनि यी सेवा उपलब्ध गराउन सक्छन् । तर बिडम्बनापूर्ण अवस्था के छ भने अधिकांश जीवन बीमकले एकपटक जारी गरि सकेपछि मूल बीमालेखकाे कुनै पनि शर्तमा फेरबदल गर्नबाट ठाडै अस्वीकार गरिदिने प्रवृत्ती रहेकाे छ।

बीमालेख दुई पक्षबीचकाे करार हाे, करारका शर्तहरुलाई करारका पक्षहरूबीचकाे स्वतन्त्र सहमतिमा पुरक करारकाे माध्यमबाट स‌ंशाेधन गर्न संभव हुन्छ। तर इन्द्रकाे बाउ चन्द्र आए पनि हुन्न भन्ने उखान नेपालकाे जीवन बीमा व्यवसाय क्षेत्रमा चरितार्थ छ। तपाई बीमालेखमा बीमितकाे जन्म मितिमा महिना वा गते सच्याउन अनुराेध गर्नुहाेस् , मान्दैनन् । नामकाे वर्णमाला सच्याउन अनुराेध गर्नुहाेस् मान्दैनन् । बीमालेखकाे अग्रिम भुक्तानी वापतकाे रकम ३ वा ४ वर्षे अवधिमा भुक्तानी पाउने रकम स्वतः बीमालेख किस्तामा समायाेजन गरिदिन अनुराेध गर्नुहाेस् प्रकृयागत झण्झट तेर्स्याउँछन् र बिलम्ब शुल्ककाे मिटर चालू राख्छन् ।

छिमेकी मुलुक भारतमा जीवन बीमा कम्पनीहरुले बीमितका लागी बीमालेखकाे विवरण सच्याउने,बीमा अवधि घटाउने वा बीमाशुल्क किस्ताकाे भार कम गर्ने विकल्पहरू खुल्ला राखेका छन् । एलआइसीले बीमितलाई बीमालेखकाे अवधि कटाैती गरेर बीमाशुल्क किस्तामा फेरबदल गर्ने, बीमितकाे नाम वा अन्य कुनै विवरण सच्याउने, अग्रिम भुक्तानीवापतकाे रकम बीमाकिस्तामा स्वतः समायाेजन गरिदने सुविधा घाेषितरूपमा नै प्रदान गरिरहेकाे छ।

वार्षिक रूपमा बीमांककाे ५ प्रतिशत रकम फिर्ता हुने धनवर्षा बीमालेखकाे गलत बिक्री (मिस सेल) गर्नका लागी नेपालमा जीवन बीमकले किस्ता रकममा समायाेजनकाे विकल्प उपलब्ध गराए पनि अन्य जीवन बीमालेखमा बिरलै अभ्यास गरेकाे पाइन्छ।

बीमितले बाँकी अवधिका लागी बीमाकाे किस्ता तिर्न नसकेकाे अवस्थामा ३ वार्षिक किस्ता तिरेकाे बीमालेखलाई चुक्ता बीमालेखमा परिणत गर्ने विकल्प नेपालमा उपलब्ध भएपनि बीमितलाई यसबारे जानकारी सचेत बनाइएकाे पाइदैन । चुक्ता बीमालेखमा परिणत भएकाे बीमालेखकाे बाँकी अवधिकाे किस्ता रकम भुक्तानी गर्नुपर्दैन र बीमा अवधि पुरा भएपछि बीमा‌ंककाे निश्चित रकम बीमितले भुक्तानी प्राप्त गर्छन् ।

बीमालेख कर्जावापतकाे ब्याज नियमितरूपमा भुक्तानी नगरेकाे अवस्थामा बीमालेख जफत हुने प्रावधानबारे पनि बीमितलाई शिक्षित बनाइएकाे पाइदै‌न । कर्जा लैजानुहाेस्, बीमा अवधि पुरा हुने बेलामा चुक्ता गर्दा हुन्छ भन्ने घातक सल्लाह दिएर बीमकका कर्मचारीले बीमितलाई पठाउने गरेका छन् ।

समर्पण मूल्यकाे तुलनामा थाेरै कर्जा रकम लिएका बीमितले कर्जा रकम थप्न अनुराेध गर्दा बीमकका कर्मचारीले पुरानाे सबै रकम चुक्ता गर्न दबाब दिन्छन् । अधिका‌ंश बीमकले पुरानाे कर्जाकाे साँवा र ब्याज चुक्ता नगर्दासम्म बीमितलाई कर्जावापत थप रकम उपलब्ध गराउँदैनन् । अप्ठेराेमा परेकाे बीमितले सापटी लिएर वा दैनिक ३ प्रतिशतकाे उच्च ब्याजदरमा अनाैपचारिक क्षेत्रबाट पैसाकाे जाेहाे गरेर कर्जा चुक्ता गरेपछि मात्र बीमकले थप रकम कर्जा उपलब्ध गराउँछन् । वास्तवमा बीमालेख सेवा अन्तर्गत हुनुपर्ने के हाे भने बीमितले कर्जाकाे ब्याज र बीमाकाे किस्ता दुबै नियमित रुपमा भुक्तानी गर्दै आएकाे छ भने थपिएकाे समर्पण मूल्यकाे आधारमा बीमितकाे अनुराेधमा बीमकले थप रकम कर्जा सहजै उपलब्ध गराउनुपर्ने हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS