Connect IPS
IME Life

काठमाडौं महानगरले तोक्यो दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीको पार्किङ शुल्क, व्यवसायिक भवनमा भने शुल्क नलाग्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्रका व्यवसायिक भवनहरु (निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्स , मल), अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीलाई निःशुल्क पार्किङ्ग सेवा उपलब्ध गराउनु पर्ने भएको छ ।

महानगरपालिकाको आर्थिक ऐन २०८० ले यस्तो व्यवस्था गरेको हो । महानगरले आवासीय वा व्यावसायिक भवनहरुमा रहेका/भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ्ग बापतको शुल्क संकलन गर्न निषेध गरिएको छ । सेवाग्राही वाहेक अन्यसँग मात्र पार्किङ्ग शुल्क लिन सकिने महानगरले जनाएको छ ।

Prabhu
Crest

व्यवसायिक रुपमा सवारी साधन पार्किङ्ग प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ्ग प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने व्यवस्था गरिएको छ । पार्किङ्ग प्रयोजन देखाई नक्सा स्वीकृत गरेका भवनको पार्किङ्ग क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरेकाको हकमा भने महानगरपालिकाले प्रचलित कानुन र निर्णय बमोजिम कारवाही गर्नेछ । यस्ता स्थानबाट सम्पत्ति करसहित सम्बन्धित अन्य कर असुल गरिनेछ ।

सार्वजनिक सडकहरुमा सवारी साधन पार्किङ्ग सञ्चालन गर्न अनुमति दिइने छैन । काठमाडौं महानगरपालिका आफैँले निश्चित अवधि तोकेर दिएको कुनै सवारी साधनलाई पार्किङ्ग सुविधा उपलब्ध गराए वापत निश्चित सवारी साधन पार्किङ्ग शुल्क लगाइ असुल गरिनेछ ।
निजी भवन वा जग्गामा पार्किङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले महानगरपालिकाबाट पूर्वअनुमति लिएको हुनु पर्ने महानगरले जनाएको छ ।

महानगरपालिकाले अन्य सम्भावित क्षेत्र पहिचान गरेर पैदल मार्ग (फुटपाथ) बाहेक सवारी आवागमनमा अवरोध नहुने गरी नगर कार्यपालिकाले मापदण्ड तोकेर पार्किङ्ग सुविधा उपलब्ध गराउन सक्ने ऐनमा व्यवस्था गरिएको छ । यो ऐन जारी भएको बखत महानगरपालिकाले अवधि तोकेर पार्किङ्ग सुविधा उपलब्ध गराएका स्थानका लागि क्षेत्र तोकेर शुल्क निर्धारण भएको छ । पार्किङ्ग गराउँदा क्षेत्रगत आधारमा स्पष्ट रेखाङ्कन गरेर प्रवेश र वहिर्गमन फरक फरक हुने गरी प्रविधि प्रयोग गरेर व्यवस्थापन गर्नु पर्नेछ । क्षेत्र र समयका आधारमा महानगर आफैँले वा निजी क्षेत्रको सहयोगमा पार्किङ्ग सञ्चालन व्यवस्थापन हुनेछ ।

न्यूरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्गलगायतका भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौरसम्म) काठमाडौँको मध्य भागका तोकिएका स्थानलाई क्षेत्र नं १ मा राखिएको छ । यस क्षेत्रमा सवारी साधन पार्किङ्ग गरेवापत २ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म १५ रुपैयाँ र प्रति घण्टा २५ रुपैयाँ कायम गरिएको छ । यसैगरी ४ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म ५० रुपैयाँ र प्रति घण्टा ८० रुपैयाँ कायम गरिएको छ ।

क्षेत्र नम्बर १ मा उल्लेख गरिएका स्थानबाहेकका महानगरपालिका क्षेत्रभित्रकाका अन्य ठाउँलाई क्षेत्र नम्बर २ मानिएको छ । यी क्षेत्रमा २ पाङ्ग्रे सवारी साधन पार्किङ्ग गरेवापत प्रति घण्टा १५ रुपैयाँ, ४ पाङ्ग्रेका लागि ४० रुपैयाँ र ४ पाङ्ग्रेभन्दा ठूला सवारीका लागि प्रति घण्टा १०० रुपैयाँ कायम गरिएको छ ।

निजी क्षेत्रवाट निजी स्वामित्वको घरजग्गामा व्यावसायिक रुपमा सञ्चालित पार्किङ्गमा २ पाङ्ग्रे सवारी साधनमा पहिलो आधा घण्टाका लागि १५ रुपैयाँ, पहिलो १ घण्टाका लागि २५ रुपैयाँ र त्यसपछि हरेक १५ मिनेटका लागि ५ रुपैयाँ थप शुल्क लिन सकिनेछ । यस्तै ४ पाङ्ग्रे सवारी साधनका लागि पहिलो आधा घण्टाका लागि ४० रुपैयाँ, पहिलो एक घण्टाका लागि ७५ रुपैयाँ र त्यसपछि प्रत्येक १५ मिनेटका लागि थप १५ रुपैयाँ शुल्क लिन सकिनेछ ।

लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारी साधन पार्किङ्ग गर्ने गरी सञ्चालन गरिने व्यावसायलाई व्यवसाय करमा ५ वर्षसम्म शतप्रतिशत छुट प्रदान हुने व्यवस्था गरिएको छ । महानगरपालिका आफैँले वा निजी क्षेत्रको सहयोगमा आधुनिक प्रविधियुक्त पार्किङ्गको व्यवस्था गर्ने ऐनमा उल्लेख गरिएको छ । यसका लागि निजी क्षेत्रलाई पार्किङ् स्थल निर्माण गर्न प्रोत्साहित गरिनेछ । सवारी साधन पार्किङ्ग गर्ने क्षेत्र र निषेधित क्षेत्र काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाले तोक्न सक्नेछ ।

अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनहरुलाई पार्किङ्ग शुल्क लाग्ने छैन । यस्तै आपतकालीन सेवाका सवारी साधन र महानगरपालिकाले तोकेको अन्य सवारी साधनलाई निशुल्क पार्किङ्गको व्यवस्था हुनेछ ।

नक्सापास गर्दा भूमिगत पार्किड क्षेत्र उल्लेख गरी व्यावसायिक प्रयोजन रहेको भवनको पार्किङ्ग क्षेत्रलाई सहज गराउन सार्वजनिक संरचनाले अवरोध गरेको भए सो संरचनाको सुधारमा महानगरपालिकाले सहजीकरण गर्नेछ । भवन निर्माण गर्दा तथा नक्सा पास गर्दा भवनको क्षेत्रफल र उपयोगिताका आधारमा तोकिएको क्षेत्रमा अनिवार्य पार्किङ्ग उपलब्ध गराउनु पर्नेछ । पार्किङ्ग क्षेत्रमा अनिवार्य रुपमा महानगरपालिकाले दिएको स्वीकृत पार्किङ्ग संकेत वा चिन्ह प्रयोग गरेर सूचना पाटी राख्नु पर्नेछ । सूचना पाटीमा पार्किङ्ग दर्ता नम्बर, पार्किङ्ग सम्बन्धी विवरण र शुल्क उल्लेख भएको हुनु पर्नेछ । पार्किङ्ग शुल्क उठाउँदा डिजिटल प्रणालीबाट अनिवार्य विलिङ्ग गर्नु पर्नेछ । यसको विवरण नियमित रुपमा महानगरपालिकामा पेश गर्नु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS