काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि असार एक गते बुक क्लोजको मिति तय गरेको छ । त्यसकारण आज जेठ ३२ गतेसम्म शेयर खरिद गर्नेले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउने छन् ।
कम्पनीले हकप्रद शेयर निष्काशनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो ।
कम्पनीको चुक्ता पूँजी एक अर्ब ६४ करोड रुपैयाँ रहेको छ । उक्त पूँजीको ५० प्रतिशत अर्थात ८२ करोड २१ लाख रुपैयाँको हकप्रद निष्काशन गर्नेछ । हकप्रद शेयर निष्काशन पछि चुक्ता पूँजी २ अर्ब ४६ करोड रुपैयाँ पुग्नेछ ।
हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै २०७९ कार्तिक २२ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।