काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । उक्त आइपीओ नतिजा भने केही समयपछि मात्रै हेर्न मिल्ने विक्री प्रबन्धकले जनाएको छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com , सिडीएससीको मेरो शेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
क्यापिटलका अनुसार आइपीओमा कुल ११ लाख ८५ हजार २ सय ६ जनाको आवेदन परेको थियो । जसमध्ये १० लाख ७७ हजार ७ सय ४० जनाको आवेदन मात्र योग्य भएको छ । यस हिसाबमा १ लाख ७ हजार ४ सय ४६ जनाको आवेदन अयोग्य भएको छ ।
आइपीओमा माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफाँड गरिएको छ । जसअनुसार ६४ हजार ३ सय ६६ जनाले शेयर पाएका छन् । यीमध्ये भाग्यमानी ७ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर हात पारेका छन् ।