काठमाडौं । बजेटको विषयलाई लिएर आत्तीएका लगानीकर्ताले शेयर उठाउन थालेका छन् । पूँजीगत लाभकर लगायतका विषयमा रहेका दुविधाको अन्त्य भए सँगै शेयर बजारमा सुधार देखिएको हो । आन्तरिक राजस्व विभाग तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नै लगानीकर्ताको आवाजलाई संबोधन गर्दै आर्थिक विधेयकमा भएको व्यवस्थालाई हटाउने प्रतिवद्धता व्यक्त गरे सँगै शेयर बजारमा सुधार देखिएको हो ।
बजेटको समयमा शेयर बजारमा ११० अंक भन्दा धेरैले गिरावट भएको थियो । बजेट पछि ७६ अंक भन्दा धेरैले सुधार भएको छ । आज मंगलबार नेप्से सूचक २५.६६ अंकले सुधार भएको छ । नेप्से सूचक १९२७.६५ अंकमा रोकिएको छ । कारोबार रकम भने एक अर्ब ९२ करोडको भएको छ ।
आज १८२ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ३६ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । सम्पुर्ण सूचक तथा उपसूचक हरियाली भएका छन् ।
आत्तीएका लगानीकर्ताले विस्तारै विस्तारै शेयर खरिद गरिरहेका छन् । ठुलो ठुलो कारोबार नभए पनि सक्रिय लगानीकर्ताहरु भने बढेका छन् । बैंक वित्तीय संस्थाले पनि शेयरधितो कर्जालाई विशेष प्राथमिकता दिदै आएका छन् । शेयरधितो कर्जा लिएरै खरिद गर्दा पनि बजार तल्लो विन्दुमा रहेकाले लगानीकर्ताले ठुलो नोक्सानी व्यहोर्नु पर्ने देखिदैन ।