काठमाडौं । शेयर बजारमा समान्य सुधार देखिएको छ । साताको पहिलो कारोबारमा नेप्से सूचक ५.८८ अंकले बढेर १८८३.२० अंकमा रोकिएको हो । सूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम एक अर्ब ६० करोड रुपैयाँको खरिद बिक्री भएको छ ।
आज विकास बैंक, फाइनान्स, हाइड्रोपावर र उत्पादन तथा प्रशोधनको सूचकमा गिरावट देखिएको छ भने बाँकी सूचकमा सुधार देखिएको छ । होटल र बीमा कम्पनीको सूचकमा उछाल आएको छ । राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शिवम सिमेन्टको सर्वाधिक ६ करोड १७ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।
बजेट नजिकिदै गर्दा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । बजेट पछि बजारले कति गति लिन्छ भन्ने अवस्था छैन । बजेट अगाडी सामान्य सुधार भएर पुनः घट्छ कि भन्ने त्रासले पनि लगानीकर्ताले खुलेर शेयर खरिद बिक्री गरिरहेका छैनन् ।
अर्को तर्फ यदि सरकारले राम्रो बजेट ल्यायो र बजारले गति लिने अवस्था देखियो भने अवसर गुम्ने भन्दै लगानीकर्ताहरुले थोरै थोरै गरि शेयर उठाइरहेका छन् । ठुला लगानीकर्ताहरुले पनि पछिल्लो समय थोरै थोरै गरेर शेयर खरिद गरिरहेका छन् ।