IME Life
GBIME

विदेशमा रहेका नेपालीले नेपालमा आफ्नो लगानी व्यवस्थापन कसरी गर्ने ? कृष्ण गिरीको लेख (भाग २)

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अघिल्लो भागमा हामीले विदेशमा रहेका नेपालीले नेपालभित्र विप्रेषणमार्फत आफ्नो कमाई भित्राउँदै गर्दा यसरी कमाएको रकमलाई नेपालभित्र कसरी लगानी व्यवस्थापन गर्ने भन्नेबारेमा हामी चर्चा गर्दै थियौं । यसक्रममा हामीले ३ वटा क्षेत्रको बारेमा माथि नै चर्चा गरिसकेका छौं । आज भने बाँकी अन्य क्षेत्रको बारेमा थप चर्चा गर्दै छौं ।

(घ) विभिन्न पेन्सन तथा सामाजिक सुरक्षा योजनाहरु

Crest

हरेक मानिसको लक्ष्य हुन्छ आफ्नो बुढेशकाल सुरक्षित रहोस् । जब आफ्नो उमेर सक्रिय रुपमा काम गर्ने रहँदैन र हामी रिटायर हुन्छौं तब हामीलाई कुनै पनि प्रकारको आर्थिक अभाव नहोस् । बुढ्यौली उमेरमा विशेषगरी शरिर कमजोर हुने, रोग व्याधी बढ्ने हुँदै गर्दा स्वास्थ्य उपचार लगायतमा हाम्रो धेरै पैशा खर्च हुने गर्दछ । यस्तै गरी आफू पछिको पूस्ता कमाउने हुँदै गर्दा तिनीहरुलाई पढाउन बढाउन तथा विहेदान गर्न बाँकी भएमा त्यस्ता व्यवहारिक पाटो समेतलाई हामीले कमाउने उमेर हुँदै गर्दा ख्याल गर्नुपर्ने हुन्छ । यसका लागि हाल नेपाल भित्र योगदानमा आधारित २ वटा पेन्सन योजनाहरु सञ्चालनमा रहेको छ ।

पहिलो, सामाजिक सुरक्षा कोष अन्तरगतको सामाजिक सुरक्षा योजना र दोश्रो, नागरिक लगानी कोष अन्तरगतको नागरिक पेन्सन योजना ।

दुवै योजनाका आफनै विशेषताहरु रहेकाछन् । दुवै पेन्सन योजना योगदानमा आधारित रहेकाछन् । नागरिक पेन्सन योजना रु. ५०० मासिक रुपमा जम्मा गरेर शुरु गर्न सकिन्छ वा आफुलाई ६० वर्षको उमेरपछि न्यनुतम कति पेन्सन मासिक रुपमा आवश्यक पर्ने हो सोको योजना गरेर अहिलेबाटै मासिक रुपमा जम्मा गर्दै जान सकिन्छ । यता सामाजिक सुरक्षा कोषमा भने न्यूनत रु. २००० वा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत जम्मा गरेर सहभागि हुन सकिन्छ ।

दुवै पेन्सन योजनाको पेन्सन शुरु हुने उमेर ६० वर्ष हो भने सामाजिक सुरक्षा कोषको आवद्ध हुनेले आफू आबद्ध भएको १२ महिनामा ९ महिना न्यूनतम सहभागिता भएको आधारमा पेन्सनका साथै अन्य थप सुविधा प्राप्त गर्न सक्दछन् भने नागरिक पेन्सन योजनामा न्यूनतम १५ वर्ष योगदान गरेको हुनुपर्नेछ ।

यसरी विदेशमा रहने नेपालीहरुले बुढेसकालमा आफूलाई आर्थिक रुपमा सुरक्षित राख्नको लागि उपलब्ध मध्येको कुनै पनि एक पेन्सन योजनामा सहभागी हुन सक्नेछन् । यी दुवै पेन्सन योजनामा सहभागी हुन सम्बन्धित संस्थाको वेबसाइटबाट अनलाइन फारम भरेर सहभागी हुन सकिनेछ ।

(ङ) विभिन्न जिवन वीमा योजनाहरु

बीमा योजना भनेको कुनै पनि अप्रत्यासित घटनाका कारण हुनसक्ने आर्थिक तथा भौतिक क्षतिबाट पर्नसक्ने  जोखिमलाई न्यूनीकरण गर्नका लागि बनाइएको वित्तिय औजार हो । यस अन्तरगत भविष्यमा हुन सक्ने जुनसुकै घटनाबाट पर्न जाने आर्थिक वा भौतिक क्षति वापतको हर्जाना मैले भुक्तान गर्दछु भनेर बीमा कम्पनीहरुले सो वापतको प्रिमियम रकम वा शुल्क लिई हामीसँग करार गर्दछन् । र कुनै भवितव्य भई घटना घटेको खण्डमा सोबाट पर्न गएको क्षतिबाट सिर्जित आर्थिक क्षतिको मुल्यांकन गरी हामीलाई जोखिममुक्त बनाउँदन् । नेपालमा बीमा कम्पनीहरु दुई प्रकारकाछन् । निर्जिवन बीमा र जिवन बीमा ।

निर्जिवन बीमा कम्पनीहरुले विभिन्न भौतिक वस्तुहरु जसको मुल्य दोश्रो वा तेश्रो पक्षले किटान गर्न सक्दछ त्यस्ता वस्तुहरुको बीमा गर्दछन् भने जीवन बीमा कम्पनीहरुले केवल मानिसहरुको जीवनका बीमा गर्दछन् ।

अहिले नेपालमा रहेका १७ वटा जिवन बीमा कम्पनीहरुले बचत र सुरक्षाको नारा दिँदै वृहत ढंगबाट नेपाल भित्र तथा नेपाल बाहिर रहेका नेपालीहरुलाई बीमा योजनाहरु सञ्चालन गरिरहेकाछन् । विदेशमा रहने धेरै नेपालीहरुमा बीमा योजनाको बारेमा निक्कै चासो रहने गरेको पाइन्छ ।

यिनै १७ वटा जिवन बीमा कम्पनी अन्तरगत कार्यरत रहने विभिन्न मध्यस्थकर्ता वा एजेन्टहरुले बीमा योजनालाई भविष्यको लागि लगानी समेत हो भनी विभिन्न आकर्षक ढंगबाट तपाईंहामी समक्ष बीमा योजना र यी योजनाहरुबाट प्रदान गरिने बोनश दरलाई उल्लेख गरी योजना खरिद गर्न आकर्षित गरिरहेको पाइन्छ ।

बीमा भनेको लगानी भन्दा पनि मुख्यतः बचत हो र सँगसँगै जोखिमको प्रत्याभूति अर्थात सुरक्षा पनि हो । तसर्थ हामीले विदेशबाट दुःख गरेर कमाएको पैशालाई बीमा योजना खरिद गर्दाखेरी केवल बचत र सुरक्षाको दृष्टिकोणबाट हेरेर मात्रै बीमा योजना खरिद गर्नुपर्ने हुन्छ । यस्तै बीमा योजना विभिन्न अवधिको हुने गर्दछ । हामीसँग काम गरेर कमाउन सक्ने उमेरका आधारमा र प्रिमियम तिर्न सक्ने उमेरका आधारमा हामीले बीमा योजनाको अवधि छनौट गर्नुपर्ने हुन्छ । सामान्यतः छोटो अवधि भन्दा पनि २० वर्षको अवधिको बीमा गर्दा प्रिमियम कम पर्नुका साथै बीमा कम्पनीबाट प्राप्त हुन सक्ने प्रतिफल अर्थात बोनश दर अलिक धेरै हुन सक्दछ ।

यस्तै गरी बीमा गर्दा हामीलाई अलिक धेरै भावुक बनाउने गरिएको पाइन्छ । त्यही भएर हामी सबैभन्दा पहिले बच्चाको अनि श्रीमतीको बीमा गर्ने भनेर सोच्दछौं । तर बीमा गर्दा जहिले पनि घरमा कमाउने मान्छो को छ उसलाई धेरै बीमाको आवश्यकता रहने गर्दछ । माथि नै भनिएको छ बीमा भनेको जोखिम वापतको सुरक्षाको लागि हो । तसर्थ कमाउने मान्छे नै धेरै हिडडुल गर्नुपर्ने, काम गर्नुपर्ने र यसो गर्दा उसले नै घरमा सबैभन्दा बढि जोखिम बोकेर हिँडेको हुन्छ । तसर्थ बीमा घरमा कमाउने मान्छे अर्थात घरमुलीको बीमा गर्नुपर्दछ । त्यसो गर्न सकेको खण्डमा मात्रै भोली आफूलाई केही हुँदापनि सो वापतको आर्थिक सुरक्षा आफ्नो घरपरिवारले पाउने गर्दछन् ।

यसका साथै सामान्यतः बीमा कति रकमको गर्ने भन्ने पनि धेरैको प्रश्न हुने गदर्छ । बीमा गर्दा अहिलेको वर्तमान भन्दा पनि भविष्यको आवश्यकतालाई हेरेर र आर्थिक सुरक्षामा पर्न सक्ने जोखिमलाई हेरेर गर्ने भएका कारण हामीलाई अहिले केही भई हाल्यो भने पनि आगामी ५ देखि १० वर्षसम्म बीमाबाट प्राप्त हुने आम्दानी र आफ्नो हालको आम्दानी बराबर हुने गरेर बीमा गर्नुपर्दछ । यसरी गर्न सकेको खण्डमा मात्रै बीमा गर्नुको औचित्य ठहर्छ नत्र भने बीमा गरेतापनि तपाईंलाई आवश्यक वास्तविक आर्थिक सुरक्षा प्राप्त नहुन सक्दछ । यसरी बीमा रकम कायम गर्दैगर्दा सो वापत आउने वार्षिक प्रिमियम रकम के कति हुन्छ र त्यो तिर्ने क्षमता आफूसँग रहन्छ कि रहँदैन भनेर पनि हेर्नुपर्ने हुन्छ ।

यसबाहेक बीमा गराउँदा कम्पनी अनुसार बीमा गर्नेको उमेर अनुसार रु. १० लाख वा रु. २० लाख माथिको बीमा गर्दा अनिवार्य रुपमा विभिन्न मेडिकल टेष्टहरु गर्नुपर्ने हुन्छ । यसका साथै विदेशमा रहने नेपालीले नेपाल आउँदा र बाहिर जाँदा अध्यागमनको छाप लागेको मितिभित्र रहेर बीमा गरेको हुनुपर्दछ । तर कतिपय अवस्थामा मध्यस्थकर्ता वा एजेन्टले यस्ता कुराहरुलाई लुकाईछिपाई पनि बीमा गरिरहेको हुन सक्दछ । त्यस्तो भएको खण्डमा पछि बीमा वापतको रकम क्लेम गर्दा हाम्रो क्लेम नपुग्ने हुन सक्दछ । तसर्थ विभिन्न पक्षहरुलाई बिचार गरेर तपाईंहरुले आफूले कमाएको केही रकमबाट आफ्नो आर्थिक सुरक्षाको लागि जिवन बीमा समेत गर्न सक्नुहुनेछ ।

(च) सामुहिक लगानी योजना, आदि ।

सामुहिक लगानी योजना भनेको सर्वसाधारणमा छरिएर रहेको ससानो बचत रकमलाई पूँजीमा परिवर्तन गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिई सञ्चालन गरिने कोष हो । यस्तो सामुहिक लगानी योजना नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएरमात्रै सञ्चालन गर्न सकिन्छ । सामुहिक लगानी योजना दुई प्रकारको हुने गर्दछ । पहिलो, बन्दमुखी योजना र दोश्रो, खुलामूखी योजना ।

बन्दमुखी योजना निश्चित अवधि तोकि सञ्चालन हुने सामुहिक लगानी योजना हो । यस योजनाको आकार र सञ्चालन अवधि पहिले नै निर्दिष्ट गरिएको हुन्छ । तर खुलामूखी योजनाको भने अवधि र आकार दुवै अनिश्चित हुन्छ । बन्दमुखी सामुहिक लगानी योजना पुनः खरिदबिक्रीका लागि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत हुने गर्दछ भने खुलामुखी सामुहिक योजना भने नेपाल स्टक एक्सचेन्जमा सूचिकृत हुने गर्दैन । यस अन्तरगत खरिद गरिएको ईकाईहरु पुनः खरिद बिक्री गर्नको लागि योजना व्यवस्थापकलाई नै सम्पर्क गर्नुपर्ने हुन्छ ।

सामुहिक लगानी योजना सञ्चालन गर्ने योजना व्यवस्थापकले नेपाल धितोपत्र बोर्डबाट योजना व्यवस्थापनको अनुमति लिइएरमात्र यस्तो योजनाको व्यवस्थापन गर्ने कार्य गर्दछ । यस्तो योजना व्यवस्थापकसँग दक्ष र अनुभवी लगानी व्यवस्थापकहरु भएको हुँदा तपाईं हामीले भन्दा राम्रो सँग लगानी व्यवस्थापन गर्ने गर्दछन् ।

नेपालमा सञ्चालित अधिकांश सामुहिक लगानी योजनाहरुले नेपाल स्टकमा सूचिकृत भएका कम्पनीहरुमा लगानी गर्ने गर्दछन् । यस्ता योजनाहरुले आफ्नो कोषको कूल रकमको १५ प्रतिशत भन्दा बढि रकम मुद्दति निक्षेपमा राख्न पाइन्न । तसर्थ यिनीहरुले पनि बजारको गति र लगानी अवसरको पहिचान गरेर बजारमा निरन्तर खरिदबिक्री गर्ने कार्य गरिराख्दछन ।

हिजोआज खुलामूखी सामुहिक लगानी योजनालाई सिप अर्थात सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान समेत भन्ने गरिन्छ । सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान भनेको माथि हामीले मुद्दति निक्षेपमा रिकरिंग मुद्दति निक्षेप भनेको जस्तै हो । अर्थात कुनै पनि खुलामुखी सामुहिक लगानी योजनामा मासिक वा त्रैमासिक वा अर्धवार्षिक रुपमा निरन्तर आफूले लगानी गर्नको लागि सम्झौता गरी सो अनुसार तोकिएको शेड्युलमा निरन्तर सो खुलामुखी सामुहिक लगानी योजनाको इकाई खरिद गर्नु हो ।

यसरी निरन्तर खरिद गर्दै जाँदा हामीले गरेको लगानीबाट संकलन भएको रकमलाई पुनः योजना व्यवस्थापकले सूचिकृत धितोपत्रहरुमै लगानी बढाउँदै र लगानी व्यवस्थापन गर्दै अगाडि बढाउँदछ । यसबाट प्राप्त प्रतिफलसहित यसले हरेक दिन आफ्नो खुद सम्पत्ति मुल्य प्रति ईकाई जारी गर्नुपर्दछ । र यसको खरिदबिक्री सोही प्रति ईकाई खुद सम्पत्ति मुल्यको आधारमा हुने गर्दछ ।

शेयरबजारमा भर्खरै प्रवेश गर्नुभएका तथा सिक्दै गर्नुभएका लगानीकर्ताहरुले प्राथमिक निष्काशनमा सहभागित भएपश्चात सिधै दोश्रो बजारमा सूचिकृत धितोपत्रको खरिद गरी लगानी गर्नुभन्दा यस्ता बन्दमूखी वा खुलामूखी सामुहिक लगानी योजनामा लगानी गर्नु उपयुक्र्त हुन्छ । अझ भन्नुपर्दा खुलमूखी सामुहिक लगानी योजनामा आबद्ध भई सिप गर्नु धेरै नै उपयुक्र्त हुन्छ । यसरी गरिने सिप न्यूनतम ५ देखि १० वर्षको अवधिको लागि गर्न सकेमा यसबाट राम्रो पुँजी सकलन हुन सक्दछ र यसबीच हामी स्वयंले पनि बजारलाई राम्रो सँग बुझ्ने मौका पाएका हुन्छौ । जसबाट हामीले थप प्रतिफल आर्जन गर्न सक्दछौं ।

यसबाहेक दोश्रो बजारमा लामो समयदेखि कारोबार गर्दै आएको अनुभव हुने लगानीकर्ताहरुले स्वयंले ३ देखि ५ वटा उपयुक्र्त कम्पनीहरुको छनौट गरी मासिक रुपमा वा त्रैमासिक रुपमा आफूसँग भएको लगानी योग्य रकम निश्चित दरमा बाँडेर सोही निश्चित कम्पनीहरुमा मात्रै निरन्तर लगानी गरेर पनि स्वयंले सिप गर्न सकिन्छ । यसरी गरिएको सिपको जोखिम खुलामूखी सामुहिक लगानी योजनाको जोखिमको दरभन्दा बढि रहने गर्दछ । यद्यपि यसरी गरिने लगानीको प्रतिफल समेत दिर्घकालमा खुलामूखी सामुहिक लगानी योजनाको प्रतिफलभन्दा उच्च रहने सम्भावना हुन्छ ।

अन्त्यमा,

हरेक मानिसले आफूले कमाउन शुरु गरेपछि यसरी कमाएको पैशालाई बचाएर भविष्यमा आफ्नो तथा आफ्नो परिवारको विभिन्न आवश्यकताहरुलाई पूरा गर्ने सपनाहरु देख्न थाल्दछ । यसक्रममा आफ्ना आवश्यकता तथा सपनाहरुलाई पुरा गर्नको लागि पहिलो दिनबाटै लगानी गर्ने योजना बनाउनु पर्दछ । हाल काम र अध्ययनको सिलसिलामा विभिन्न देशमा रहनुभएका नेपालीहरुले आफुले दुःख गरेर कडा मेहनतका साथ कमाएको पैशालाई सहि ढंगबाट उपयुक्र्त वित्तिय औजारमा लगानी व्यवस्थापन गर्नुपर्दछ । अहिले विभिन्न देशमा रहने नेपालीहरुले विभिन्न अन्य डिजिटल सम्पत्तिहरु जस्तै क्रिप्टोकरेन्सी, एनएफटिका साथै आफू कार्यरत बाहेकका विभिन्न देशहरुमा सञ्चालित फरेन करेन्सी तथा कमोडिटि ब्रोकरमार्फत समेत लगानी गरेको तथा सो लगानीबाट ठूलो क्षति बेहोरेको अनौपचारिक रुपमा सुन्न थालिएको हुँदा यस्तो लगानीलाई अत्याधिक जोखिमयुक्त वित्तिय औजारहरुमा नबुझिकन लगानी गर्नुभन्दा बुझेर विचार गरेर नेपालभित्र उपलब्ध विभिन्न क्षेत्रमा लगानी व्यवस्थापन गर्न सकेमा भविष्यमा यसबाट राम्रो प्रतिफल हासिल गर्न सकिने सम्भावना रहेको छ ।

माओवादी १० वर्षे द्वन्दकालमा समेत करिब ४.५ प्रतिशतको औषत आर्थिक वृद्धिदर रहेको नेपालमा राजनीतिक स्थिरता कायम हुनासाथ ६ देखि ७ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने सम्भावना रहेको छ । यदि त्यस्तो भएको खण्डमा यहाँ सञ्चालित उद्योग धन्दा तथा व्यवसायको व्यापार तथा कारोबारमा समेत वार्षिक रुपमा २० देखि २५ प्रतिशतको वृद्धि हुन सक्ने सम्भावना रहेको छ । तसर्थ माथि उल्लेख गरिएका मध्येबाट सकेसम्म ३ वटा क्षेत्रमा लगानी व्यवस्थापन गर्दा उपयुक्त हुने देखिन्छ ।

भाग-१ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

विदेशमा रहेका नेपालीले नेपालमा आफ्नो लगानी व्यवस्थापन कसरी गर्ने ? कृष्ण गिरीको लेख (भाग –१)

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS