काठमाडौं । बीमा सर्भेयर संघ नेपाल (निसा) को १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । चितवनमा आयोजना गरिएको साधारणसभाले राष्ट्रिय बीमा कम्पनीमा सर्भेयर शुल्कको नयाँ व्यवस्था लागु नभएसम्म कुनै पनि सर्भेयरलाई काम नगर्ने आह्वान गर्ने निर्णय पारित गरेको छ ।
नेपाल बीमक संघ र सर्भेयर संघ विच २०७३ सालमा भएको सहमति अनुसार राष्ट्रिय बीमा कम्पनीले पारिश्रमिक नदिएको भन्दै एशोसिएसनले साधारणसभाबाटै सम्पुर्ण सर्भेयरहरुलाई काम नगर्न आह्वान गरेको हो ।
राष्ट्रिय बीमा कम्पनीले २०७३ सालदेखि बीमा सर्भेयरलाई बीमक संघ सँग भएको सहमतिअनुसारको पारिश्रमिक दिइरहेको छैन । संघका पदाधिकारीहरुले धेरै लामो समयदेखि नेपाल बीमा प्राधिकरण सँग यस विषयमा माग सुनुवाइको अनुरोध गर्दै आइरहेका छन् । तर कम्पनीले टेरपुच्छर लगाएको छैन ।
संघको हिजो चितवनमा सम्पन्न भएको गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारणसभामा अध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायतको प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ । त्यस्तै गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पनि पारित भएको छ ।