काठमाडौं । आर्थिक सहायताका लागि निवेदन दिने सेवाग्राहीलाई सजग रहन वैदेशिक रोजगार बोर्ड सचिवालयले अनुरोध गरेको छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु, अङ्गभङ्ग वा उपचारका लागि प्राप्त हुने आर्थिक सहायता तथा बीमा रकम प्राप्त गर्नका लागि कुनै असम्बन्धित व्यक्ति र बिचौलियाको भर नपर्न बोर्डले अनुरोध गरेको हो ।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग वा बिरामी भएमा कानुन बमोजिम वैदेशिक रोजगार बोर्ड सचिवालय र वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट आर्थिक सहायता प्राप्त गर्ने व्यवस्था रहेको छ । बोर्ड सचिवालयको हकमा तोेकेको ढाँचामा आवश्यक कागजपत्रहरु संलग गरी स्थानीय तह मार्फ पनि निवेदन दिन सकिने बोर्डले जनाएको छ । उक्त विषयमा जानकारी लिनका लागि भने बोर्डमा भौतिक उपस्थित भई अथवा टेलिफोन मार्फत जानकारी लिन सकिने छ ।
पछिल्लो समय यी सेवा लिनका लागि विभिन्न बाहनामा मृतक तथा सेवाग्राहीको घरमा गई रकम माग गर्ने क्रम बढेकोले सचेत रहन बोर्डले सूचना जारी गरेको हो ।