काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ‘एचआइडिसिएल’ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ४८.८५ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ६७ करोड ५२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ४५ करोड ३६ लाख रुपैयाँ थियो ।
मुनाफामा उल्लेख्य बृद्धि भए पनि प्रतिशेयर आम्दानीमा भने खासै ठुलो सुधार देखिदैन । कम्पनीको प्रतिशेयर आम्दानी ६.३५ रुपैयाँ रहेको छ । गत वर्षको यहि अधविमा ४.८५ रुपैयाँ थियो ।
चुक्ता पूँजी २१ अर्ब २७ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा भने २ अर्ब ३२ करोड रुपैयाँ मात्रै सञ्चित छ । कम्पनीले जलविद्युत आयोजनामा ७ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेको छ । विभिन्न कम्पनीको शेयरमा एक अर्ब ७५ करोड रुपैयाँ लगानी रहेको छ ।
वित्तीय आम्दानी एक अर्ब २ करोड रुपैयाँ आर्जन हुँदा शेयरमा गरिएको लगानीबाट एक करोड ३३ लाख रुपैयाँ मात्रै आम्दानी भएको छ । कम्पनीले बैंकको निक्षेपको व्याजदरबाट हुने आम्दानी जति पनि आर्जन गर्न सकेको छैन । प्राथमिकताको क्षेत्रमा लगानी नहुँदा १३ अर्ब रुपैयाँ बैंक वित्तीय संस्थामै जम्मा भएर बसेको छ ।