काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक ५.७१ अंकले सुधार भएर बन्द भएको छ । हिजो बुधबार करेक्सन भए पनि आज सामान्य सुधार देखियो । सुधार देखिए पनि आज कारोबार अवधिभर तिव्र उचारचढाव देखियो ।
शेयर बजारका लगानीकर्ताले अर्थमन्त्री विष्णु प्रसाद पौडेल प्रति गरेको आशा पुरा नहुँदा दोस्रो बजारमा तिव्र उतारचढाव देखिएको छ । अर्थमन्त्री पौडेलले व्यवसायीको माग सुनुवाइ गर्दै बैंकको व्याजदर घटाउन नेपाल राष्ट्र बैंक सँग समन्वय गर्ने बताएका थिए ।
यहि अवधिमा बाणिज्य बैंकहरुले निक्षेपको व्याजदर घटाए पनि कर्जाको व्याजदरमा पुनरावलोकन गरेका छैनन् । निक्षेपको व्याजदर घटेपनि बैंकिङ तरलतामा अझै पनि सुधारको संकेत देखिदैन । बैंकहरुले अलिकति पनि कर्जा विस्तार गरे पछि सिडी रेसियो बोर्डरलाइनमा पुग्ने अवस्था छ ।
आजै मात्र नेपाल राष्ट्र बैंकले दुई साता अवधिका लागि १० खर्बको अल्पकालिन तरलता प्रवाह गर्न रिपो जारी गरेको छ । यसले पनि के संकेत गर्छ भने बजारमा अझै पनि तरलता छैन । तरलता अभावको संकेतले पनि शेयर बजारका लगानीकर्ता आत्तिएका हुन् ।
अर्को तर्फ राजनीतिक गतिविधिले पनि लगानीकर्तामा डर कायमै छ । अझै पनि सरकार परिवर्तन हुने हो कि भन्ने डर लगानीकर्तामा छ । त्यसैले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको सामान्य भेटघाटले पनि बजार तरङ्गित हुने गरेको छ ।
बिहीबार नेप्से सूचक २१७८.८१ अंकमा रोकिएको छ । कारोबार रकम तीन अर्ब एक करोडको भएको छ । आज कारोबार रकम विगतका दिनको भन्दा घटेको छ । १०८ कम्पनीको शेयर मूल्य घट्दा ८५ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ ।
आज सर्वाधिक धेरै आदर्श लघुवित्त र मैलुङ खोलाको शेयर मूल्यमा सुधार देखिएको छ । सूचकहरुको सुधार मिश्रित छ । अन्य सूचकहरुमा गिरावट आए पनि अन्तिममा बाणिज्य बैंकको सूचक ९.२३ अंकले सुधार हुँदा समग्र बजार नै बढेको छ । माइक्रोफाइनान्स र बीमाको सूचक तल झरेका छन् ।